सत्तामोहले निम्त्याएको संकट



कोरोना संक्रमणले अक्रान्त मुलुक अहिले दलका नेताहरुमा देखिएको सत्ता मोहले थप संकटतर्फ उन्मुख हुदैगएको छ । दुई तिहाईको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओली अल्पमतमा परेर स्वतः पदमुक्त हुनपुगेका छन् । राजतीतिक दम्भका कारण पतनतर्फ उन्मुख ओली फेरि पनि सरकारको नेतृत्व गर्ने दाउमा रहेका छन् । तर उनीमाथि अब नैतिकताको संकट देखिएको छ । संसदीय अभ्यासको दुहाइ दिंदै संविधानमै नभएको प्रावधान पछ्याउँदै प्रतिनिधिसभा विघटन गरेका उनले एक पटक अविश्वास पाएपछि पुनः तुरुन्तै सोही पदमा आउन मिल्छ ? नेकपाले संसदीय दलको नेता परिवर्तन गरेर अर्को व्यक्तिलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्न किन सक्तैन ?दैनिक दर्जनौं मानिस कोरोना संक्रमणबाट मरिरहेका छन्भने सरकार र राजनीतिक दलहरु भने सत्ता कसरी प्राप्त गर्ने र मोजमस्तीको राजनीतिमा लाग्ने भन्ने खेलमा लिप्त हुन थालेका छन् ।

संसदको विषेश अधिवेशनमा कोरोना संक्रमणले मुलुकलाई आक्रान्त पारेकाले यसको समाधानमा सबै दल मिलेर अघिबढौं भनेर कुनै पनि दलले अगुवाइ गर्नसकेको देखिन्न । संसद बैठकमा एकले अर्कालाई खुइल्याउने र सत्ता हात पार्न के के गर्ने भन्ने बारेमा मात्रै केन्द्रित भएको देख्दा नेतामा नैतिकता हराएको भान हुन्छ । संविधानलाई दुवाई दिएर सरकार हामीले गठन गर्न पाउनुपर्छ भन्ने नेताहरुले कोरोना संक्रमणको विकराल अवस्थालाई भने ओझेलमा पार्न खोजेका छन् । जनताले राजनीतिक दलबाट धेरै आशा राख्न नसक्ने अवस्था देखापर्दैगएको छ । सरकार सत्ता टिकाउन लिप्त हुनु र विपक्षी सत्ता कसरी हत्याउन सकिन्छ भन्ने घृणित खेलमा टाँसिन थालेपछि कोरोना संक्रमणबाट संक्रमितको संख्या निरन्तर उकालो लाग्नु अस्वाभाविक होइन । यतिखेर कतै अक्सिजन नपाएर बिरामीले अकालमा मृत्यु वरण गर्नुपरेको छ भने कतिपय अस्पतालको बेड नपाएर एम्बुलेन्समा नै ज्यान गुमाउन थालेका छन् । यस्ता खाले समाचार सार्वजनिक हुँदा पनि यसले कुनै पनि नेताको मन छुन सकेको छैन । चुनावका बेला जनताको घर–दैलेमा गएर भकारोसमेत सोहोर्न भ्याउने नेताहरु अहिले दुलोभित्र पसेर जनताको आर्तनादलाई नजरअन्दाज गरिरहेका छन् ।

कोरोना संक्रमितलाई दिइने रेम्डेसिभर उपलब्ध नहुँदा ६ गुणा महँंगोमा कालाबजारियामार्फत पीडितका आफन्तले सामान खरिद गर्दासमेत सरकारले कारवाहीको दायरामा ल्याउनसकेको देखिंदैन । सरकार आफ्नै दम्भका कारण पतनको बाटोमा अघि बढेपछिकालाबजारियाहरु चलखेलमा अझ बढी चञ्चल भएका छन् । प्रशासन पनि मुकदर्शक र निरिह बन्न पुगेको छ । आफ्नै सरकारलाई गिराउन सफल भएकोमा सत्ताधारी दलकै एकथरि नेताहरु सफलताको उत्सव मनाइरहेको हुनुपर्छ । तर उनीहरुको यो तथाकथित सफलता र संस्थापन पक्षको हठको उन्मादले मुलुकबाट वामपन्थी बढारेको विश्लेषणलाई ध्यान दिनसकेको देखिन्न । जनताले सरकारबाट आश नगर्ने र नेतालेजनताको चाहनालाई ध्यान नदिने अवस्थाको सिर्जना पञ्चायत कालमा भएको भए स्वाभाविकै हुन्थ्यो, तर लोकतान्त्रिक व्यवस्थामा यस प्रकारको अभ्यास भइरहेको छ । जततालाई राज्यले महामारीका बेला अबआफ्नो सुरक्षा आफै गर भन्ने संकेत दिइरहेको छ । जनतामा देखिएको रोगप्रतिको लापर्वाही अर्को विडम्वनाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्