एकैदिन १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा मंगलबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १५ बालबालिका र २ जना ज्येष्ठ नागरिक छन् । यति धेरै संख्यामा बालबालिकामा एकसाथ कोरोना देखिएको हेटौंडामा यो पहिलो हो । हेटौंडा वडा नम्बर–४ मा सबभन्दा धेरै २५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ४५ महिला छन् । हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १ सय ८६ जनाको स्वाब परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

एन्टिजेन विधिबाट गरिएको ६ जनाको परीक्षणमा १ जना र पीसीआर विधिबाट गरिएको १ सय ८० जनामध्ये १ सय १५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले बताउनुभयो । बागमती प्रदेशमा २ लाख १९ हजार ३ सय ८ जनामा संक्रमण भएकोमा करिब ७७ प्रतिशत निको भएको, करिब २३ प्रतिशत (४९ हजार ७ सय ३२ जना) उपचाररत् रहेको र ०.७४ प्रतिशत (१ हजार ६ सय १९ जना) को निधन भएको छ । मंगलबार प्रदेशमा ४ हजार ५ सय २० जनामा नयाँ संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्