मृत्युमा स्ट्याटस नलेखौं दियो बालेर प्रार्थना गरौँ



– गौरी मल्ल
आ–आफ्नो भाव प्रकट गर्न मानिस स्वतन्त्र छ। तसर्थ, मेरो कुरालाई कृपया अन्यथा नलिनु होला। आजकल कोभिडको भय संसारैभरि यसरी व्याप्त भइरहेको छ कि स्वाभाविक मृत्युलाई पनि मानिस भयको दृष्टिले हेर्न थालेका छन्। किनकि, अवस्था नै यस्तै छ।

त्यसमाथि सामाजिक सञ्जालको जालो यसरी फैलिएको छ कि वातावरण झन् त्रासदी पूर्ण बनेर गइरहेको छ।स्वाभाविक अवस्था होस् या कोभिडको कारण कसैको पनि मृत्युमा हामी दुःखी मनले आफ्नो  भाव पोख्छौँ, श्रद्धाञ्जली अर्पण गर्छौं। आप्mना शब्दाञ्जली दिएर हामी त आफ्नो काम सक्छौं र चुप लागेर बस्छौं। तर, हामीले कहिले सोचेका छौं? हामीले श्रद्धाञ्जली दिएका ती स्ट्याटसहरू ती मानिसहरूले पनि पढिरहनुभएका होलान्, जो हस्पिटलको शैय्यामा हुनुहुन्छ या उहाँहरूका आफन्तले पनि। मलाई लाग्छ कतै हामी हाम्रो स्ट्याटसले अरु कसैलाई मानसिक रूपमा कमजोर त बनाइरहेका छैनौँ? हामीसँग मृत आत्माप्रति श्रद्धा व्यक्त गर्ने अन्य थुप्रै उपाय छन्।

त्यसमध्ये एउटा यो पनि हुन सक्छ कि पुण्यआत्माको नाममा चीर शान्तिको कामना गर्दै एउटा दियो बालेर प्रार्थना गरौँ। ‘मैले निर्णय गरेकी छु आज बाट म यही गर्नेछु। कमसेकम त्यो अवस्थासम्म, जबसम्म हामी यो अवस्थाबाट सामान्य अवस्थामा पुग्दैनौं। कृपया यसलाई अन्यथा नलिनुहोला। सबैको जय होस्।

प्रतिक्रिया दिनुहोस्