अक्सिजनको अभाव



कोरोना महामारीको दोस्रो लहरका कारण यसबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ । कोरोनाका कारण श्वास–प्रश्वासमा समस्या भएका बिरामीहरूलाई अत्यावश्यक र निर्विकल्प वस्तु हो, अक्सिजन । छिमेकी देश भारतमा अक्सिजनको अभावले बिरामीहरुको बेहाल भएका समाचारहरू आइरहेका छन् । नेपालमा पनि त्यही अवस्था आएको छ ।

दिन प्रतिदिन संक्रमण र त्यसको अनुपातमा मृत्युदर पनि सँगैसँगै बढ्दै गएपछि अस्पतालमा संक्रमितको भीड लाग्न थालेको छ । बिरामीको भीड लागेसँगै महामारी संक्रमित बिरामीका लागि अत्यावश्यक मानिएको अक्सिजनको अभाव हुन गएको छ । बिरामीले आवश्यकताअनुसार अक्सिजन पाउन सकिरहेका छैनन् । यसले संक्रमितलाई झनै ठूलो र गम्भीर समस्या पारिरहेको छ । यसले गर्दा सरकारले चाँडो भन्दा चाँडो अक्सिजनको बन्दोबस्त गर्नु अत्यन्त आवश्यक देखिन्छ । बजारमा अक्सिजनका सिलिन्डरको समेत अभाव हुन थालेपछि यसले सबैलाई चिन्तित बनाएको छ । अक्सिजन आवश्यक रहेका बिरामीलाई भर्ना गर्न निकै मुस्किल परेको खबर यत्रतत्रबाट आइरहेको छ । बिरामीको गम्भीर अवस्था हँुदा फोक्सोले काम गर्न छोड्ने भएकाले अक्सिजनको आवश्यकता पर्ने गर्दछ । फोक्सोले काम गर्न छोड्दा शरीरका अरू अंग पनि बिग्रिन सक्दछन् । त्यसैले, यसबाट बचाउनका लागि बिरामीलाई अक्सिजनको आवश्यक पर्दछ । कोरोनासँगै नियमितरूपमा दम, निमोनिया तथा शल्यक्रिया गरेका बिरामीलाई सामान्यतया अक्सिजन आवश्यक पर्ने डाक्टरहरुको भनाइ छ । बेडमा रहेका बिरामीका लागि तत्काल अक्सिजन आवश्यक भइरहेको छ ।

अक्सिजनको अभावले कयौं बिरामीको मृत्यु भएका दुःखद खबर सुन्नुपरेको छ । यसले गर्दा कोरोना संक्रमितको उपचारमा निकै कठिनाइ र जटिल अवस्था सिर्जना गरिदिएको छ । सरकार र सरकारी निकायले सिलिन्डर देशबाहिर नपठाउन कडाइ गरे पनि अक्सिजन सिलिन्डर हराउन भने नछोडेको जानकारीमा आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकभरि विभिन्न १५ वटा सरकारी र १५ वटा निजी अस्पताल गरी कुल ३० वटा अस्पतालमा अक्सिजन प्लान्ट राखिएका छन् । जसमार्फत दैनिक २ हजार ५ सय ४९ वटा सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन भए पनि पर्याप्त मात्रामा सिलिन्डर नभएका कारण अक्सिजन भर्न नपाउँदा कोभिड संक्रमितको उपचारमा समस्या भइरहेको छ । यसका लागि अक्सिजन सिलिन्डर देशबाहिर लैजाने र देशभित्र पनि घर–घरमै किनेर भण्डारण गर्ने प्रक्रियालाई बन्द गर्न सचेतनाको अभियान चलाउनुका साथै प्रशासनिक अनुगमन र निरीक्षण पनि जरुरी छ ।

सरकारले अक्सिजन उत्पादन, वितरण र व्यवस्थापनमा पनि उचित ध्यान दिनुपर्दछ । अस्पतालबाट बाहिर गएका सिलिन्डर तुरुन्त भर्ने व्यवस्था मिलाउनुपर्दछ । अहिले अक्सिजनको अभाव रहनु भनेको हाम्रो स्वास्थ्योपचारको क्षमतामाथि ठूलो चुनौती हो । जति छिटो सरकारले अक्सिजनलगायत अन्य पूर्वाधारको जोहो गरी बिरामीलाई उपचार सेवा पु¥याउन मद्दत गर्न सक्दछ, त्यति छिटो मुलुकलाई कोरोना संकटबाट पार लगाउन सकिन्छ । यस्तो महामारीमा सत्ताको खेलमा नलागी सरकार तथा राजनीतिक दलहरु स्वास्थ्योपचारको अवस्था सुधार गर्ने दिशामा केन्द्रित हुनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्