ट्रमा सेन्टर बन्यो कोरोना अस्पताल



काठमाडौं, (नेस)

कोरोना संक्रमणका कारण राजधानीका सबै अस्पताल भरिभराउ भएपछि सरकारले मुलुकको एकमात्र ट्रमा अस्पताल राष्ट्रिय ट्रमा सेन्टरलाई कोरोना अस्पतालका रूपमा रूपान्तरण गरेको छ ।

सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले संक्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रूपमा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले सेन्टरमा रहेका घाइते र बिरामीलाई वीर अस्पतालमा सारेर पूर्णरूपमा कोभिड–१९ अस्पताल बनाइने जानकारी दिनुभयो । उहाँले आईसीयू र भेन्टिलेटर थपेर अस्पताललाई व्यवस्थित बनाइने बताउनुभयो ।

अहिले ५० शय्यामा संक्रमितको उपचार गरिरहेको सेन्टरले आजैबाट एक सय शय्या सञ्चालनमा ल्याइसकेको छ भने बुधबारबाट पूर्णरूपमा सञ्चालनमा ल्याइने भएको छ । सेन्टरमा १० सघन उपचार कक्ष र २ सय शय्या रहेका छन् ।यसअघि गत वर्ष पनि संक्रमणको महामारी चलेका बेला सेन्टरले कोभिड–१९ का बिरामीको उपचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्