जिल्ला अस्पतालमा अक्सिजनको अभाव, उपचारमा समस्या



विनोदसिंह विष्ट, बैतडी

जिल्ला अस्पताल बैतडीमा अक्सिजनको अभाव भएको छ । कोरोनाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएको हो ।‘कोरोनाका जटिल खालका बिरामी बढ्दै छन्, अस्पतालमा अक्सिजनको अभाव छ, अक्सिजन चाहिने बिरामीहरुलाई अब भर्ना गर्न सकिने अवस्था छैन ।’ –अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले भन्नुभयो । जिल्ला अस्पतालमा उपचाररत १३ जना कोरोना बिरामीमध्ये १० जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको उहाँको भनाइ छ ।

अस्पतालमा भएको अक्सिजनको मात्रा सकिएको र अहिले भर्ना भएका बिरामीका लागि मात्रै अक्सिजन रहेको डाक्टर जोशी बताउनुहुन्छ । ‘अक्सिजन कतैबाट आपूर्ति भइरकेको छैन’, उहाँले भन्नुभयो– ‘जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएसँगै कोरोनाका बिरामीलाई बाहिर रिफर गर्नुपरिरहेको छ । उहाँले कसैसँग अक्सिजनका सिलिन्डर भए अस्पताललाई दिएर सहयोग गर्नसमेत अपिल गर्नुभएको छकोरोनाको दोस्रो लहर चलेपछि जिल्ला अस्पताल बैतडीमा अहिलेसम्म ३१ जना उपचारका लागि भर्ना भएका छन् । तीमध्ये ९ जनाले कोरोना जितेका छन् भने ७ जनालाई अन्यत्र रिफर गरिएको छ ।

जिल्ला अस्पताल बैतडीले स्वास्थ्यमा सामान्य समस्या रहेका बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । सामान्य समस्या भएका बिरामीलाई पनि संक्रमणको जाखिम हुन सक्ने भन्दै अस्पतालले यस्तो आग्रह गरेको हो । कोरोनाका संक्रमित बढ्दै गएकाले अस्पतालले यसअघि नै आकस्मिक र प्रसूति सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्