कोभिडबाट निको भइसकेकामा अर्को प्राणघातक समस्या

मधुमेह रोगी बढी जोखिममा



नयाँदिल्ली, (एजेन्सी)

भारतको मुम्बईस्थित आँखाका शल्यचिकित्सक डा. अक्षय नायर शनिबार तीन साताअघि कोभिड–१९ को उपचारबाट निको भएका एक २५ वर्षीया महिलाको शल्य चिकित्सकका लागि प्रतीक्षारत थिए । मधुमेहका पनि रोगी रहेकी तिनको उपचारमा नाक, कान र घाँटीका पनि विशेषज्ञ अक्षयले काम शुरू गरिसकेका थिए । उनले उनको नाकबाट ट्युब छिराएर अति दुर्लभ तर खतरनाक संक्रमित तन्तु म्युकोमाइकोसिस निकाल्न थाले । यस डरलाग्दो संक्रमणले नाक र कान तथा कहिलेकाहिं मष्तिस्कलाई समेत नराम्ररी प्रभावित पार्दछ । तर, तीन घन्टा लामो शल्यक्रियाका दौरानमा आखिर त्यस संक्रमणको कारण बिरामीको ज्यान बचाउन डा. अक्षयले उनको एउटा आँखै निकाल्नुप-यो ।

कोभिड–१९ को भयावह दोस्रो संक्रमण लहर फैलिरहेको स्थितिमा भारतमा डाक्टरहरूले निको भइसकेका कोभिड बिरामीहरूमा छालामा संक्रमण हुने अर्थात् ‘ब्ल्याक फन्गस’को आक्रमणको घटना देखिइरहेको बताएका छन् । प्रायशः माटो, बोट बिरुवा, मल तथा सडेगरेका फलफँल र सागसब्जीमा पाइने म्युकोरको संसर्गमा आउँदा म्युकोमाइकोसिस संक्रमण हुने विशेषज्ञहरूको भनाइ छ । डा. अक्षयका अनुसार यो माटो, हावा, नाक र स्वस्थ व्यक्तिका म्युकसमा पनि पाइन्छ । यसले मानव नाक, मस्तिष्क र फोक्सोमा आक्रमण गर्न सक्ने र यसको संक्रमण डायबिटिज र नाजुक स्वास्थ्य स्थिति हुने क्यान्सर वा एचआइभी तथा एड्स बिरामीका लागि प्राणघातक साबित हुन सक्ने बताइएको छ ।

डाक्टरहरूका अनुसार यस संक्रमणको कारण औसतमा ५० प्रतिशतको ज्यान जान सक्छ । साथै, तिनीहरूले अत्यन्तै सिकिस्त कोभिड–१९ का बिरामीको ज्यान जोगाउन प्रयोग हुने स्टेरोइडको कारण पनि यो संक्रमण हुनसक्ने अनुमान गरेका छन् । डिसेम्बर र फ्रेब्रुअरीबीच भारतका पाँचवटा शहर मुम्बई, बैंग्लोर, हैदरावाद, दिल्ली र पुणेमा यस्ता ५८ वटा घटना देखिएको बताइएको छ । पीडितमध्ये कोभिड–१९ बाट निको भएको १२ देखि १५ दिनभित्र अधिकांशमा यस्तो समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्