खोप कूटनीति



नेपालमा पछिल्लो समय कोरोना संक्रमणले दिनानुदिन नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ । संक्रमण मात्र होइन मृत्युदर पनि बढेको देखिन्छ । देशका झन्डै ६० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना संक्रमितका शव जलाउन पशुपति आर्यघाट नै अपुग भएका दृश्यहरु सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन् । अब देशभरका कुनै पनि अस्पतालमा संक्रमितलाई बेड उपलब्ध गराउन धेरै कठिन अवस्था नरहेको स्वास्थ्य मन्त्रालयले बताइरहको छ ।

तर पनि कोरोना नियन्त्रणका लागि सरकारले खासै चासो लिएको जनताले महसुुस गर्न सकेका छैनन् । यस्तैमा कोरोना संक्रमण रोक्न केही मात्रामा भए पनि आशा जगाएको कोरोनाविरुद्धको खोप खरिदमा कमिसनको चक्कर चलिरहेका समाचार सार्वजनिक भैरहेका छन् । कोरोना महामारी शुरु हुनासाथ स्वास्थ्य सामग्री खरिदमा ओम्नी इन्टरनेसनलसँग बदनियतपूर्ण सम्झौता गरेको भनेर आलोचित ओली सरकार खोप खरिदमा पनि बिचौलियाको प्रभावमा परेको छ र बिचौलियालाई दोष थोपरेर आफू पानीमाथिको ओभानो हुन माहिर देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ ।भारत, चीन, रुस, बेलायत, अमेरिकालगायतका देशमा खोप विकसित भइरहेका खबर आउन थालेपछि मन्त्रिपरिषद्ले खोप खरिदसम्बन्धी निर्देशिका पारित ग¥यो । तर, २० लाख डोज खरिदका लागि भने ४ फागुनमा मात्र निर्णय भएको थियो । फागुन ४ को मन्त्रिपरिषद् बैठकले एक डोजको ४ अमेरिकी डलरका दरले २० लाख खोप खरिद गर्न ८० प्रतिशत रकम भुक्तानी गर्ने निर्णय गरेको थियो ।

यही निर्णयअनुसार फागुन ९ मा १० लाख डोज खोप आयो । अझै १० लाख डोज आउन बाँकी छ । १० लाख डोज आएपछि मन्त्रालयले ५० लाख डोज खोप खरिदको प्रस्ताव सिरमलाई पठाएको थियो । सरकारले भारतमा उत्पादन हुने कोभिसिल्ड खोप ल्याउन नसक्नुमा बिचौलिया विजय दुगड र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यकी श्रीमती रितुसिंह वैद्य बाधक रहेको बताइएको छ ।
हुकुम इन्टरप्राइजेजको वित्तीय व्यवस्थापन हेर्ने गरी साझेदारी गरेकी वैद्यले श्रीमान् सुरज वैद्यलाई प्रयोग गरी प्रधानमन्त्री र प्रधानमन्त्री निकटका मानिसलाई दबाब दिएर कमिसन खानका लागि नेपाल आउने खोपमा रोक लगाएको नयाँ तथ्य बाहिर आएको छ । सरकारको खोप अभियानअन्तर्गत भारतले १० लाख र चीन सरकारले ८ लाख मात्रा अनुदानमा दिएको र भारतबाट खरिद गरेको गरी झन्डै २४ लाख मात्रा खोप जनतालाई लगाइसकिएको छ ।तर खरिद गरिसकेको बाँकी खोप नआउँदा सरकारको खोप अभियानमै बाधा परेको छ । खरिद गरेको बाँकी खोप पठाइदिन नेपाल सरकारले पटक–पटक आग्रह गरेको भए पनि सरकारको निरीहता र नेपाली बिचौलियाको दौडधुपका कारण भारत सरकार र सेरम इन्स्टिच्युटले समेत नेपाललाई खोप दिन आलटाल गरेको बताइएको छ । भारतीय नागरिकसमेत रहेकी रितुसिंह वैद्य र विजय दुगडले कोरोनाविरुद्धको खोप नेपाल ल्याउने प्रक्रियामा अवरोध गरेपछि अहिले नेपाली नागरिकले आफू ठगिएको महसुस गरेका छन् ।

सरकारले जीटुजी प्रक्रियाबाट खोप खरिद गरे पनि त्यसको कमिसन आफूहरूले पाउनुपर्ने दाबी गर्दै स्वास्थ्य मन्त्रालयलाई दबाब दिँदै आएको बताइन्छ । हुकुमलाई कमिसन दिने वा सीधै खरिद गर्ने विषयमा राज्यका निकायहरू फेब्रुअरी महिनाभरि आपसी विवादमा थिए । तर, मार्चको दोस्रो सातादेखि भारतमा संक्रमण बढ्न थाल्यो र महिनाको अन्तिमसम्म भयावह स्थिति भएकाले भारतले खोप निर्यातमै रोक लगायो । यसरी समयमै खोप ल्याएर नागरिकको जीवन रक्षा गर्ने एउटा असाधारण अवसर गुम्न पुगेको छ । कमिसनका लागि जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने बिचौलियामाथि कारबाही हुनुपर्ने र सरकार स्वयं बिचौलियासँगै मिलेमतोमा रहेकाले सरकारको पनि यति बेला चौतर्फीरूपमा विरोध उठेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को खोप प्राप्त गर्नका लागि कूटनीतिक प्रयास भइरहेको बताइरहेको छ । मन्त्रालयले सरकारले खरिद गरेको खोप आउने क्रममा रहेको जनाउँदै कूटनीतिक र अन्य माध्यमबाट समेत खोप ल्याउने प्रयास भइरहेको जानकारी दिएको हो । तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निरीहता र मौनताले भने झनै रहस्य सिर्जना गरेको छ ।

भारतबाट खरिद गरिएको खोपमा कूटनीतिक पहल गर्नुको साटो बिचौलियाले कमिसन नपाएर खोप रोकिएको खबरले परराष्ट्रमन्त्रीको भूमिकामाथि पनि प्रश्न उठ्छ । सुनसुकै बहानामा पनि कोरोना महामारी नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयलाई थमाएर पराराष्ट्र मन्त्रालय कानमा तेल हालेर बस्न सुहाउँदैन ।अहिलेसम्म झन्डै ४ लाखले मात्र दुवै डोज खोप लगाएका छन् । पहिलो मात्रा लगाएको १२ साताभित्र दोस्रो खोप लगाइसक्नुपर्ने भए पनि फागुन २३ पछि कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथिका वृद्धवृद्धाले दोस्रो मात्रा लगाउन पाएका छैनन् । त्यसैले, यो गम्भीरतालाई मनन गरी सरकारले सिरमसित किनिसकेको खोप तुरुन्त उपलब्ध गराइदिन कूटनीतिक ताकेता गर्नुपर्छ । अन्यत्रबाट भए पनि खोप किन्ने चाँजो यथाशीघ्र मिलाउनुपर्छ । संक्रमणको यो लहर कहिले टुंगिन्छ, निश्चित छैन । फेरि अर्को लहर नआऊला भन्न पनि सकिन्न । यो बेलामा संक्रमण र मृत्युदर कम गर्न कोभिडविरुद्धको खोप एउटा प्रभावकारी उपाय हो ।
– सपना घिमिरे, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्