पल र राजले पु-याइदिए कोरोना संक्रमितलाई अक्सिजन

कलाकर्मीद्वारा एम्बुलेन्स सेवा लोकदोहोरी कलाकारलाई प्रतिष्ठानमा आइसोलेसन



फिल्म र म्युजिक भिडियोमा अभिनय र मोडलिङ गरी लोकप्रियता कमाउँदै आएका चक्लेटी नायक पल शाह पछिल्लो समयमा समाजसेवाका कारण पनि दर्शकबीच प्रशंसित भइरहेका छन्।

अघिल्लो लकडाउनमा आप्mनै फिल्म र म्युजिक भिडियो क्षेत्रका प्राविधिकलाई राहत उपलब्ध गराएर मन जितेका शाहले पछिल्लो लकडाउनमा कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराएर उनीहरूको घाउमा मल्हम लगाइरहेका छन्। उनले अक्सिजनको अभावकै कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर अक्सिजन उपलब्ध गराइरहेको र जो–कोहीलाई सहयोग गर्नु आफूहरूको दायित्व भएको बताएका छन्। पलले हाम्रो टिम नेपालसँग सहकार्य गर्दै कोरोना संक्रमण भई अक्सिजन लिनुपर्ने बिरामीलाई अक्सिजन नपाएर समस्यामा परेकाहरूलाई निःशुल्क उपलब्ध गराएका हुन्। पलका अनुसार कतिपयले आफूसँग रहेको अक्सिजन सिलिन्डर आफूहरूलाई निःशुल्क उपलब्ध गराएका छन् भने केही सिलिन्डर खरिद गरिरहेका छन्। पलले अघिल्लो लकडाउनमा प्रँविधिकहरूलाई निजी खर्चबाट राहत उपलब्ध गराउनुका साथै बाढी तथा पहिरोपीडितलाई समेत सहयोग गरेका थिए।

अर्का अभिनेता तथा राजनीतिज्ञ राज घिमिरले पनि अक्सिजनको अभावमा ज्यान जोखिम परेकाहरूलाई निःशुल्करूपमा अक्सिजन उपलब्ध गराइरहेका छन्। उनले बिरामीका मानिसलाई पायक पर्ने स्थानसम्म आफैले अक्सिजन पु-याइदिइरहेका छन्। ‘मैले अघिल्लो लकडाउनको समयमा पनि निजी खर्चबाट खरिद गरी अक्सिजन नपाएर समस्यामा परेका बिरामीका लागि अक्सिजन उपलब्ध गराइदिएको थिएँ। यसपटक पनि निःशुल्क रूपमा अक्सिजन उपलब्ध गराइरहेको छु। अक्सिजन भरेर सिलिन्डर दिने र अक्सिजन भरेरै सिलिन्डर फिर्ता लिने गरिरहेको छु’ राजले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने। राज पनि पछिल्लो समय सामाजिक सेवामा निकै सक्रिय छन्।उता कलाकर्मीहरूका साथमा विभिन्न पेसामा आबद्ध मानिसहरूको एक समूहले काठमाडौं उपत्यकामा २४ सै घण्टा अक्सिजनसहितको निःशुल्क कोभिड एम्बुलेन्स सेवा उपलब्ध गराएर सहयोग गरेका छन्।

अभिनेता तथा गायक क्याप्टेन, विजय लामा, अभिनेता निखिल उप्रेती, हाँस्य अभिनेता केदार घिमिरे लगायतले नेपाल प्रहरीकापूर्वमहानिरिक्षक सर्वेन्द्र खनाल, अधिवक्ता सञ्जयराज अधिकारीलगायतसँगको सहकार्यमा कोरोना संक्रमणबाट हुने कोभिड—१९ भई यातायातको अभावमा अस्पताल जाने समस्यासँग जुधिरहेकाहरूलाई सघाउन ओम समाज डेन्टलको सहयोगमा निःशुल्करूपमा एम्बुलेन्स सेवा उपलब्ध गराएका हुन्। उता लोकदोहोरी कलाकारहरूले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको भवनलाई आइसोलेसन वार्डको रूपमा प्रयोग गर्न दिने भएको छ। कोरोना संक्रमणपश्चात् परिवारसँग र भाडाको कोठामा बस्न समस्या हुने लोकदोहोरी कलाकार प्रतिष्ठानको भवनमा बस्न सक्ने प्रतिष्ठानकी उपाध्यक्ष रीता थापा मगरले बताइन्। प्रतिष्ठानले सो भवनमा बस्न चाहनेका लागि बेड र खानाको व्यवस्थासमेत मिलाउनेछ। प्रतिष्ठानको भवनमा २५ जनासम्म बस्न मिल्ने क्षमता छ।

प्रतिक्रिया दिनुहोस्