कोरोना कहरमा कलिला युवाको दिनचर्या : संक्रमितको उद्दार र शव व्यवस्थापन



दुर्गाप्रसाद शर्मा, पर्वत ।

कोरोना (कोभिड-१९) संक्रमणको दोस्रो लहरले मुलुक आक्रान्त भएको छ । कपिपय संक्रमितहरुले अस्पताल सम्म पुग्न नपाउँदा घरमै मृत्यु संग संघर्ष गरेर बसिरहेका छन । कतिपयका घरमा शब छ तर त्यसलाई ब्यबस्थापन गर्न छिमेकी र गाउँलेहरु सकिरहेका छैनन ।

संक्रमणले मानवीयता समेत हराउँदै गएको बेला एउटा कलिलो युवाको दिनचार्य भने त्यसरी समस्यामा परेको ठाउँमा पुग्ने र सहयोग गर्ने काममा नै बितेको छ । पर्वतको जलजला गाउँपालिकाका २१ बर्षे युवा बिज्ञानराज शर्मा एक साता देखि कहिले बिरामीको उद्दार गरेर अस्पताल पुर्‍याउन दौडेका छन भने कतिबेला निधन भएका संक्रमितको दाहसंस्कार गर्ने काममा खटिनुभएको छ । जलजला गाउँपालिकामा संक्रमण समुदायस्तरमा फैलिएपछि बैषाख २१ गते देखि जलजला वडा नं ३ बगरफाँटका २१ बर्षिया शर्माले बिरामीलाई अस्पताल पुर्‍याउने काम थाल्नु भएको हो ।

पर्वतको जलजला गाउँपालिकामा टोलबस्तीमा समेत संक्रमित रहेका छन । उनीहरु अस्पताल सम्म आउन नसक्ने र चेकजाँच गर्न सवारीका साधन समेत नभएको गुनासो आएपछि संक्रमितलाई अस्पताल पुर्‍याउने, औषधी घर सम्म लैजाने र मृतकको शव ब्यबस्थापनका लागि काम शुरु गरेको शर्माले बताउनुभयो । ‘मैले बिरामी र आफन्तको चित्कार सुनेपछि आफै सवारी साधनको ब्यबस्थापन गरेर बिरामीलाई अस्पताल र आइसोलेसनमा पु¥याउन थालेको छु।’ उहाँले भन्नुभयो ‘६ दिनको बिचमा १० जना भन्दा बढी बिरामीलाई अस्पताल पुर्‍याएको छु।’ शर्माले उद्दार गरेका दुई जना संक्रमितको स्वास्थ्य अबस्था जटिल भएपछि थप उपचारका लागि पोखरा पठाइएको छ भने अन्य बिरामीको म्याग्दी अस्पताल बेनी र जलजला गाउँपालिकाले स्थापना गरेको फर्सेस्थित आइसोलेसनमा राखिएको छ ।

शर्माले संक्रमणको जोखिम भएको बस्तीमा अहिले मास्क बितरण गर्ने र जनचेतना जगाउने काम पनि गर्नुभएको छ। जलजला गाउँपालिकाले शर्मालाई पिपिई सेट, सेनिटाइजर, ग्लोब्सहरु सहयोग गरेको छ । शर्माले उद्दारको अभियान थालेपछि कोभिडबाट निधन भएका स्थानिय शिक्षक धनञ्जय मल्लको शवमा दागबत्ती ससेत दिएर ब्यबस्थापन पनि गर्नुभएको छ । गत बर्ष म्याग्दी अस्पतालमा कोभिडका बेला ६ महिना सम्म स्वयसेवक भएर काम गर्नुभएका शर्माले बिरामीको उद्दारका क्रममा प्रयोग भएको गाडी सामान्य दुर्घटनामा परेका कारण अहिले मोटरसाइकलमा नै बिरामी ओसार्ने काम गरिरहुनुभएको छ । सानै देखि सामाजिक काम गर्ने स्वभाबका शर्मा युवा संघ पर्वतको नेता र भर्खरै जलजला गाउँपालिकाको स्काउटको अध्यक्ष समेत चुनिनु भएकाे छ ।

‘कोभिडको बेला मानिसहरु संक्रमितलाई भेट्न, सहयोग गर्न समेत अप्ठेरो मानेको देखेपछि मेरो मनले सहयोग गर्नुपर्छ भन्ने ठानेर अघि बढेको हुँ।’ शर्माले भन्नुभयो ‘जसले जे सकिन्छ त्यही सहयोग गरेर यो महामारी संग जुध्ने हो।’ शर्माले अहिले संक्रमितलाई जडिबुटीका औषधी समेत बितरण गरिरहेको जानकारी दिनुभयो । आफुँ गाउँपालिकाका बासिन्दाको सेवामा सधै सहयोग गर्नका लागि तयार भएर बस्ने प्रतिबद्धता शर्माले जनाउनुभएको छ ।

शर्माको एकल अभियानपछि गाउँपालिकाले समेत उद्दारमा सक्रियता देखाउन थालेको छ । यसैबिच जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण र उपाध्यक्ष सिमा गर्बुजा पुनले आफुँले प्रयोग गर्दै आएको सवारी साधन एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिनुभएको छ । पालिकाले फर्सेमा अक्सिजन सहितको आइसोलेसन तयार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्