काभ्रेमा २ संक्रमितको होम आइसोलेसनमै मृत्यु, एकै रात ५ जनाले ज्यान गुमाए



मोतीराम तिमल्सिना, काभ्रे । 

कोरोना संक्रमणका कारण होम आईसोलेसनमा रहेका दुई पुरुषको गए राति निधन भएको छ । निधन हुनेमा धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेत डाँडागाउँ निवासी हुन् । जिल्लामा संक्रमण पछि होम आईसोलेसनमै निधन भएको यो पहिलो घटना हो ।

२७ बर्षिय युवकले बैशाख २४ गते धुलिखेल अस्पतालमा कोरोना परिक्षण गराएका थिए । “२४ गते साँझ कोरोना पोजेटिभ देखिए पछि उनी होम आईसोलेसनमा थिए, धुलिखेल अस्पतालको स्वास्थ्य शाखाबाट उनको अवस्थाका बारेमा जानकारी लिई असहज भए अस्पताल आउन र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहन अनुरोध गरिएको थियो”– स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले भन्नुभयो–“हिजो शनिबार राति नै उहाँको निधन भईसकेछ । अर्का एक जना ५८ बर्षिय पुरुषको हिजो नै पोजेटिभ देखिएको थियो । उहाँको पनि घरमै निधन भएछ ।” स्वास्थ्य शाखाले नगर भित्र रहेका सबै संक्रमित विरामीहरुको अवस्थाका बारेमा जानकारी लिदै स्वास्थ्य समस्या भए स्वाथ्यकर्मीहरुसँग सम्पर्क गर्न नम्वर सहितको विवरण उपलब्ध गराउँदै आएको छ ।

शनिबार राति नै धुलिखेल अस्पतालमा धुलिखेल ४ की ६२ बर्षिया महिलाको उपचार नै शुरु गर्न नपाई अस्पतालमा निधन भएको छ । अर्का एक जनाको उपचारको क्रममा निधन भएको छ भने बनेपा घर भएका एक जनाको बनेपाको शिर मेमोरियल अस्पतालमा निधन भएको छ । संक्रमण दर बढिरहँदा जिल्लामा निधन हुनेहरुको संख्या पनि बढिरहेको छ । दोश्रो भेरियन्टका कारण २७जनाले ज्यान गुमाएका छन् भने जिल्लामा संक्रमणका कारण निधन हुनेहरुको संख्या ९० पुगेको छ । सक्रिय संक्रमित शनिबार साँझसम्म१ हजार ७४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्