ग्लोबल आइएमई बैंकद्वारा चाइल्ड हेल्थलाई सहयोग



काठमाडौं (नेस) ।

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपियाँको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युटअन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो ।

बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनादेखि नै सामाजिक हितका कार्यलाई विशेष जोड दिएर अगाडि बढेको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले समाजउपयोगी यस कार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो ।

उहाँले कोभिड–१९ को अहिलेको महामारीले पनि अस्पतालजस्ता स्वास्थ्य पूर्वाधारमा ठूलो लगानीको आवश्यकता महसुस भएको बताउँदै अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्यसेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।इन्स्टिच्युटका अध्यक्ष डा. कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठमा बहुविशिष्टीकृत अस्पतालको निर्माण गर्न गइरहेको बताउनुभयो ।साथै यस इन्स्टिट्युटले बाँकी अन्य प्रदेशहरूमा पनि सोही प्रकृतिको सेटलाइट अस्पतालहरू सञ्चालन गर्न गइरहेको उहाँले बताउनुभयो । डा. कोइरालाले बैंकले गरेको उक्त सहयोगले भावी पुस्ताको स्वास्थ्यका निमित्त महत्वपूर्ण भूमिका खेल्ने जनाउँदै बैंकलाई धन्यवादज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्