आईसीयू र भेन्टिलेटर आएन सञ्चालनमा



दुर्गाप्रसाद शर्मा, पर्वत
कोभिड–१९ बाट संक्रमितले आईसीयू वा भेन्टिलेटर त परै जाओस् पर्याप्त अक्सिजनसमेत नपाउँदा अकालमा ज्यान गुमाएका खबरहरु सार्वजनिक भइरहेका छन् तर कतिपय अस्पतालहरुमा दक्ष जनशक्तिको अभावमा यस्ता आईसीयू र भेन्टिलेटर प्रयोगमा आउन नसकी थन्क्याएर राख्नुपरेको छ ।यस्तै, अवस्थामा छन् पर्वत अस्पतालमा रहेका पाँच बेड आईसीयू र तीनवटा भेन्टिलेटर पनि । सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा आईसीयू र भेन्टिलेटर प्रयोगविहीन भएका छन् । अस्पतालमा रहेको आइसोलेसनमा रहेका बिरामी गम्भीर अवस्थामा पुग्दा बिरामीले त्यो सेवा उपभोग गर्न पाउने अवस्था छैन ।

गण्डकी प्रदेश सरकारको सहयोगमा करिब पाँच महिनाअघि नै आईसीयू र भेन्टिलेटर तयार गरिए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको पर्वत अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो । ‘यस्तो गम्भीर संकट आउँदा काम लाग्छ भनेरै पाँच महिनाअघि आईसीयू र भेन्टिलेटर तयारी अवस्थामा राखेका थियौं ।’ अध्यक्ष पहाडीले भन्नुभयो– ‘प्रदेश सरकारले जनशक्ति पठाउन नसक्दा बिरामी आइहाले त्यो सुविधा दिन नसक्ने अवस्थामा छौ भन्नु पर्दा गाह्रो महसुस भइरहेको छ ।’ यसअगाडि यसका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि विज्ञापन गरिएको भए पनि कसैको आवेदन नपरेका कारण जनशक्ति परिपूर्ति गर्न नसकिएको उहाँको भनाइ छअहिले पर्वत अस्पतालमा उपलब्ध रहेका चिकित्सकबाट आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न सम्भव नहुन अध्यक्ष पहाडीले बताउनुभयो । त्यसका लागि एनेस्थेसियालिस्ट तथा विशेष तालिम लिएका नर्सहरुको आवश्यकता हुन्छन् । ‘आईसीयू र भेन्टिलेटर जोडेर तयारी अवस्थामा छन्’, उहाँले भन्नुभयो– ‘बिरामी आए बेडमा राखेर सीधै उपचार शुरु गरे हुन्छ । तर, जनशक्ति नहुँदा हामीलाई समस्या भएको छ ।’

प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले हालै सात जना जनरल फिजियिसन र १२ जना एनेस्थेसियालिस्टको लागि विज्ञापन गरेको छ । यसमा छनोट भएकाहरुलाई पर्वतसहित प्रदेशका अन्य जिल्लाका अस्पतालमा पनि खटाउने तयारी प्रदेशको छ । तर, यो प्रक्रिया पूरा भएर आउनका लागि केही समय लाग्छ । जनशक्ति व्यवस्थापनको काम प्रक्रियागतरूपमा चलिरहँदा संक्रमण दर ज्यामितीय आकारमा बढिरहेको छ । स्वास्थ्य संस्थामा मिनेट मिनेटमा यस्ता जनशक्तिको आवश्यकता पर्दै जान थालेको छ ।अक्सिजन उत्पादन भने प्रशस्त अध्यक्ष पहाडीले केही महिनाअघि अस्पतालमै शुरु गरिएको अक्सिजन प्लान्टले राम्रो उत्पादन दिइरहेको बताउँदै पर्वतमा एक दिनमा कम्तीमा पनि ५० जना बिरामीलाई एकै पटकमा अक्सिजन आपूर्ति गर्न सकिने बताउनुभयो ।

अस्पतालमा रहेको प्लान्टले दैनिक १६ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने र अहिले पनि आवश्यकता परेको अवस्थामा उत्पादन गर्ने गरिएको छ । ‘अक्सिजन प्लान्टबाट जडान गरेर बिरामी राख्ने बेड–बेडमा अक्सिजनको लाइन लगेका छौं । आवश्यकता पर्दा साथ प्लान्टले उत्पादन गर्छ । तर, अहिले खासै आवश्यकता नभएका कारण सिलिन्डरमार्फत अक्सिजनको प्रयोग भएको छ’, अध्यक्ष पहाडीले भन्नुभयो– ‘यहाँको प्लान्टको अक्सिजन उत्पादनले ५० बेड क्षमताको अस्पताललाई धान्न सक्छ । अर्थात् हामीहरु एकैपटकमा ५० जनालाई अक्सिजन आपूर्ति गर्न सक्ने अवस्थामा छौं ।’

प्रतिक्रिया दिनुहोस्