इन्डस्ट्रीमा कामै गर्न दिन्न भनेर धम्क्याउनेले नै अफर गर्छन्



– कविराज गहतराज

लामो समयदेखि नृत्य निर्देशकको रूपमा लोकप्रियता कमाइरहेका कोरियोग्राफर कविराज गहतराज निर्माता, निर्देशक तथा कलाकारको त पहिलो रोजाइका कोरियोग्राफर हुन् नै, दर्शकको प्रिय कोरियोग्राफर हुन्। करिब डेढ दशकदेखि फिल्म क्षेत्रमा कोरियोग्राफरको रूपमा सक्रिय कविराजले फिल्म इतिहासको ए ज्यान माइली बोलको गीतमार्फत कोरियोग्राफीको शुरुआत गरेका थिए। पहिलो फिल्मको गीतमार्फत नै सफलता हात पारेका कविराजले त्यसपछि लगातार तिमी फूलै फूलको फरिया लगाऊ, पागल म बन्न सक्छु, सिम्पल सिम्पल कान्छीको, गाला रातै, बट स्लोली स्लोली, पूर्व पश्चिम रेल, सुर्के थैली, पर्ख पर्ख मायालु, मेरो फिगर कोका कोला, कुटुमा कुटु, रुपै मोहनी, काले दाई काले दाई पहिलो नम्बरमाजस्ता विभिन्न फिल्मी र गैर फिल्मी दर्जनौं गीतलाई आफ्नो फरक शैलीको कोरियोग्राफीबाट सुन्दर बनाउँदै आएका छन्। धेरै कोरस कलाकारको प्रयोग गरेर फरक तरिकाले कोरियोग्राफीमार्फत आफ्नो कला क्षमता देखाउँदै आएका कविराजले हालसम्म दुई सयभन्दा बढी फिल्ममा समावेश विभिन्न गीत तथा म्युजिक भिडियोमा कोरियोग्राफी गरेका छन्।

उनले नेपाली बाहेक भने नेवारी, मगरलगायतका भाषाका गीतमा नृत्य निर्देशन गर्नुका साथै डेन्जरस नामक बलिउड फिल्म, करिब दुई दर्जन भोजपुरी र मराठी भाषाका गीतमा समेत कोरियोग्राफी गरेका छन्। उनले नृत्य निर्देशन गरेका गीत प्रायः करोड क्लबमा पुग्ने गर्छन् भने कविराजले वर्षेनी नेपालमा आयोजना हुने विभिन्न अवार्ड समारोहमा नृत्य निर्देशक विधाको अवार्ड चुम्दै आएका छन्। नेपाल समाचारपत्रको सह प्रकाशन कामना मासिकको आयोजनामा हुँदै आएको कामना फिल्म अवार्डस्मा लगातार चौथो पटकसम्म नृत्य निर्देशकको अवार्ड चुमेका कविराज कामना फिल्म अवार्डसमा लगातार एउटै विधामा चार वर्षसम्म अवार्ड जित्ने पहिलो कलाकर्मी समेत हुन्। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

नाचिरहनुपर्ने र नचाइरहनुपर्ने मान्छे, लकडाउनले गर्दा नाच्न र नचाउन पाउनुभएको छैन होला है?

हो, नि लकडाउनले गर्दा काम चलिरहेको छैन। आफै नाच्न त लकडाउनले रोक्दैन थियो, मैले नाचेरै वेट घटाएको हुँ। तर, अहिले अलिक सञ्चो नभएकाले आफै नाचेर पनि बस्न सकेको छैन। शरीरमा कमजोरी भएकाले नाच्न पाइएको छैन। लकडाउनले गर्दा नचाउनचाहिँ पाएको छैन। तर, लकडाउनको कारण मेरो मात्र काम नभएको होइन, सबै क्षेत्रको अवस्था उस्तै छ। काम बन्द भएकोले यो समय घरपरिवारका साथ आराम गरेर बसिरहेको छु।

लकडाउन नभएको भए अहिले हातमा कति फिल्म हुन्थे?

लकडाउन नै नभए पनि अहिले मेरो हातमा खासै फिल्म हुँदैन थियो। आप्mनै फिल्म मिररको सुटिङ गरिरहेको हुन्थें। मिररको सुटिङ गर्नको लागि मैले अरु फिल्म नै लिएको थिइन”।

कोरियोग्राफी कसरी रोज्नुभयो?

मलाई खासमा स्पोर्टसमा रुचि थियो। त्यसैले फिल्मको पनि गीतभन्दा फाइटको सिन मन पथ्र्यो। फाइट आएपछि पज गरेर हेर्थें। कहिलेकाहीँ डान्स गरे पनि डान्सप्रति फोकस गरेको थिइन। एसएलसीपछिको खाली समय सदुपयोग गर्ने हिसाबले डान्स सिकेँ र धरानस्थित गरिमा डान्स कल्चरमा करिब साँढे दुई वर्ष डान्स सिकाएँ। उक्त कल्चरमा डान्स सिक्दा निर्देशक उद्धव अविदित दाईसँग चिनजान भयो। मैले खासमा डन्ससम्बन्धि एक कार्यक्रम गर्ने सोच बनाएको थिएँ। तर, उहासँग कुराकानी हुँदै जाँदा फिल्मबाट गरौँ न भन्ने कुरा भयो र उहाँकै इतिहास फिल्ममार्फत कोरियोग्राफी सुरुवात गरेँ। पहिलोपल्ट त्यो फिल्मको ए ज्यान माइली भन्ने गीतमा कोरियोग्राफी गरेको थिएँ। पहिलो प्रयास हो चल्छ कि चल्दैन भन्ने थियो तर उक्त गीतमा मेरो काम राम्रो भएपछि अब कोरियोग्राफरको रूपमा करिअर अघि बढाउँछु भन्ने सोचेर यतै लागेँ।

कोरियाग्राफरको दुःख र सुख के के हुन्?

हामीले महसुस गर्ने सुख भनेको त गीत दर्शकले मन पराएपछिको नै हो। तर, काम गर्ने क्रममा दुःखचाहिँ धेरै नै भोग्नुपर्ने हुन्छ। कहिले माइनस २० डिग्रीमा पनि काम गर्नुपर्ने हुन्छ भने कहिले गर्मीको परवाह नगरी खटिनु पर्ने हुन्छ। जाडो गर्मी ख्याल नगरी काम गर्दा आफ्नो तथा टिम मेम्बरको स्वास्थ्यमा पनि असर परेको कयाै अनुभव छन्। प्रेमगीत ३ कै हात्ती ढुंगामा भन्ने गीतको शुटिङमा ५०-६० जना डान्सर हुनुहुन्थ्यो। चिसोका कारण दैनिक धेरै डान्सर बिरामी हुनुभएको थियो। उक्त समय एकजना डक्टर पनि सँगै राखेका थियौँ। मुस्ताङमा सुटिङ भएको ए मेरो हजुरको जिन्दगी नै भन्दिन भन्ने गीतको सुटिङको क्रममा लगातार तीन दिनसम्म हिँडेर लोकेसनसम्म पुगेका थियौँ। छक्कापञ्जाको पूर्व पश्चित रेल गीतको शुटिङका क्रममा गर्मीको कारण डान्सर भाइबहिनीहरूको पैतालाको छाला नै गएको थियो। त्यो बेला प्रत्येक दिन १० जना डान्सर चेन्ज गरेर पनि काम गरियो। अन्य थुप्रै दुःख झेल्नुपरेका अनुभव छन्।

 

एउटा गीतको सुटिङ पुरा हुन कति दिनसम्म लाग्छ तपाईंलाई?

सामान्यतया दुई तीन दिन लाग्ने गर्छ। तर, फिल्म हजार जुनीको दार्जिसलङमा शुटिङ गरीएको एमजी रोडैमा भन्ने गीतका लागि ६ दिन लागेको थियो। गीतमा धेरै कोरस कलाकार भएको र उक्त रोडलाई अझै सफा बनाउनका लागि हामी सबैले बिहान बिहान बढरेर काम गरेकोले अलि धेरै दिन लागेको थियो। मुस्ताङमा शुट गरिएको प्रेम गीत ३ को हात्ती ढुंगामा भन्ने गीतको लागि ५ दिन लागेको थियो। त्यहाँको चियो मौसम, मौसम छिटो छिटो परिवर्तन हुने र घाम छिटो अस्ताउने भएकाले उक्त गीतको सुटिङका लागि धेरै दिन लागेको थियो। मैले प्याकेजमा काम गर्ने भएकोले कम समयमै काम सकायो भने अर्को मुभीको काम गर्न पाईन्छ। काम छिटो सकाउँदा आफैलाई फाइदा हुन्छ। तर म छिटो सक्नुभन्दा पनि सकेसम्म राम्रो, स्तरीय र फरक काम गराै भन्ने हिसाबले धेरै दिन लाग्ने गर्छ।

तपाईंको अनुभवमा नचाउन गाह्रो र सजिलो नायक नायिका को को हुन्?

नचाउन सजिलो त दिलिप रायमाझी, प्रियंका कार्कीलगायतका हुनुहुन्छ। उहाँहरूलाई एकदमै सजिलो छ। नचाउन गाह्रो हुनेमा त कसको नाम लिनु र खै?

कविराज नै चाहिन्छ भन्ने कलाकार पनि हुनुहुन्छ?

मलाई नै खोज्ने कलाकारहरू पनि हुनुहुन्छ। धेरै कलाकारले माया र सपोर्ट गर्नुहुन्छ भने मलाई प्रोड्युसर र डाइरेक्टरले नै कामको लागि अफर गर्नुहुन्छ। उहाँहरूले भनेको समय दिन नसक्दा इन्डस्ट्रीको ७०-७५ पर्सेन्ट मानिस मसँग रिसाउनुभएको छ। पहिले पहिले फिल्म इन्डस्ट्रीमा काम गर्न दिन्न, कुट्छु भनेर धम्की पनि आउने गथ्र्यो। उहाँहरूको फिल्ममा चाहेर पनि समय दिन नसकेको कारण रिसमा त्यस्तो भने पनि उहाँहरूले अर्को फिल्म बनाउने बेला अबचाहिँ समय दिनुपर्छ धोका दिने होइन है भनेर फेरि मलाई नै अफर गर्ने गर्नुुहुन्थ्यो।

कोरियोग्राफरका चुनौती के के छन्?

नेपाली फिल्मको बजार सानो भएकाले त्यहिअनुसारको बजेटमा काम गरेर बलिउडका फिल्मी गीतसँग कम्पिटिसन गर्नुपर्छ। बजेटको कारण आफूले प्रयोग गर्न चाहेका सामान प्रयोग गर्न पाइँदैन। छोटो समयमै काम सक्नुपर्ने हुन्छ। दुःख गरेअनुसारको गीत हिट हुँदैनन्।

गीतको भिडियोमा आफूले प्रयोग गर्न चाहेको तर नपाएको केही छ?

बलिउडको हेरिकन हामीले नेपाली गीतमा गर्नुपर्ने धेरै नै छन्। नेपाली फिल्मको मार्केट पनि सानो छ। पहिलो कुरा त फिल्मको मार्केट पनि बढाउनुपर्ने हुन्छ। नेपाली फिल्मको मार्केट र बजेटअनुसार एउटा गीतका लागि गर्न सकिने जति काम गरीएको छ। तर पनि बलिउडको तुलनामा हामीले गर्नु पर्ने काम चाहिँ धेरै नै छन्।गीतको भिडियो कस्तो बनाउने, के के राख्ने भन्ने कुरा आफै निर्धारण गर्नुहुन्छ कि? निर्माता निर्देशकले भनेअनुसारको गर्नुपर्ने हुन्छ?पहिला कन्सेप्ट तयार हुन्छ र त्यसमा के कस्तो गरेर गीत राम्रो बनाउन सकिन्छ भन्ने कुरामा निर्माता निर्देशक तथा कोरीयोग्राफर बसेर छलफल गरीन्छ। खाका तयार गरेपछि सबैले आ–आफ्नो आइडिया दिएर कसरी गर्दा राम्रो रिजल्ट आउँछ, दर्शकले मन पराउनु हुन्छ भन्ने सल्लाह गरेर काम हुन्छ।

तपाईं व्यस्त कोरीयोग्राफर हुनुहुन्छ, कमाइ कतिको हुन्छ?

आजभन्दा १०-१२ वर्ष अघिको हेरिकन अहिले कमाइ धेरै राम्रो छ। काम राम्रो चलिरह्यो भने राम्रो कमाइ गरेर सजिलो तरिकाले जीवनयापन गर्न सकिन्छ।

फिल्म र म्युजिक भिडियोमध्ये कुनमा कमाइ बढि हुन्छ?

दुवैमा उस्तै उस्तै नै हुन्छ। म्युजिक भिडियोमा एक दिनको काम हुन्छ भने फिल्ममा केहि दिनको प्याकेजमा काम गरिन्छ। समयअनुसारको प्याकेज हुन्छ। संख्याको आधारमा चाहि फिल्मको तुलनामा म्युजिक भिडियो कम नै गरेको कारण अहिलेसम्म फिल्म क्षेत्रबाटै बढी कमाएको छु।

फिल्म र म्युजिक भिडियोको काममा कुन चाहिँ सजिलो?

काम त दुवैमा गाह्रै हो। सजिलो भन्ने त हुँदैन। तर, म्युजिक भिडियोको काम एकै दिनमा सकाइन्छ भने फिल्मको गीतको लागि धेरै दिन लाग्ने हुन्छ।

काम गरेपछि पेमेन्ट लिन कत्तिको गा-हो छ?

पेमेन्ट लिने कुरा सिचुयसन हेरेर हुन्छ। यहि नै हुन्छ भन्ने हुँदैन। कहिले काम सकिना साथ पेमेन्ट पनि पाइहालिन्छ भने कहिलेकाहीँ समय लाग्न सक्छ। कहिलेकाही राम्रै मान्छेबाट पनि पेमेन्ट ढिलो भइरहेको हुन्छ।

एउटा कोरियोग्राफरले आफ्नो कामबाट कस्तो अवस्थामा गर्व महसुस गर्छ?

खुशी लाग्ने र गर्व महसुस गर्ने अवस्था भनेको कामको रिजल्टपछि, त्यो गीतको भिडियो सबैले मन पराएपछि हो। कतिपय गीत हिट भएर र काम राम्रो लागेर, राम्रो काम गरेरको रहेछ मन प-र्यो बधाई भनेर फोन आउँदा निकै खुशी लाग्छ। फिल्म छक्कापञ्जाको पूर्व पश्चिम रेल बोलको गीतबाट उक्त वर्ष भएका सम्पूर्ण अवार्डमा कोरियोग्राफरको अवार्ड मैले जितेको थिएँ। यस्ता कुराहरूले थप उर्जा र हौसला मिल्छ। हामीले सबै गीतमा सकेसम्म राम्रो गराै भन्ने हिसाबले मेहनतका साथ काम गरेको हुन्छ। तर, राम्रो काम गरेका कतिपय गीत सोचे जस्तो सफल नभएका पनि धेरै छन्। राम्रो काम गरेका सबै गीत हिट हुने र हिट भएका सबै राम्रा काम गरिएको हुँदैन। गीतमा मात्र होइन, यो सिंगो फिल्ममा पनि लागू भएको देखिन्छ।

गीत हिट हुनका लागि कोरियोग्राफी राम्रो हुनुपर्छ की गीत?

सबैभन्दा पहिलो कुरा त गीत नै राम्राे ह्नपर्छ। गीत राम्रो भएपछि मात्र त्यसलाई अझ राम्रो देखाउन भिडियोमार्फत फूलबुट्टा भर्ने हो। भिडियो राम्रो बनाउनका लागि पनि कोरीयोग्राफरले मात्र राम्रो काम गरेर हुँदैन। ड्रेस डिजाइनरले आफूले भने जस्तो ड्रेस बनाइदिनु भयो भने, मेक अप तथा लोकेसन र छायांकन पनि त्यहिअनुसार भइदियो भने राम्रो गर्न सकिन्छ। समग्रमा एउटा गीत र भिडियो हिट हुनका लागि त्यसमा सहभागी सम्पूर्ण टिमको काम राम्रो हुनुपर्छ।

आफूले कोरियोग्राफी गर्न पाएको भए हुन्थ्यो भन्ने गीत पनि छन् की?

छन्, आफूलाई नै अफर आएका र आफ्नो व्यस्तताका कारण काम गर्न नभ्याएका गीतहरू समय मिलेको भए मैले गर्न पाएको भए हुन्थ्यो जस्तो लागेका छन्। जस्तै, एक कान दुई कान मैदान भैदियो भन्ने, दाल भात तरकारी र हिम्मतवालीको गीतहरू गर्न पाएको थिइनँ। आफ्नै भागमा परेका राम्रा राम्रा गीतह छोड्नुपर्दा पछुतो लाग्छ।

नृत्य कोरियोग्राफीलाई लिएर केही गर्ने सपना छ?

लकडाउनका कारण अन्य क्षेत्र जस्तै फिल्म क्षेत्रमा पनि असर गरेको छ। अहिलेको चुनौती भनेको नै कसरी नेपाली फिल्म क्षेत्रलाई उकास्ने भन्ने हो। अहिलेको लागि आफ्नो क्षेत्र कोरियोग्राफीको माध्यमबाट फिल्म क्षेत्रलाई दिन सक्ने राम्रो काम दिऔं भन्ने छ  ।

प्रतिक्रिया दिनुहोस्