अक्सिजनसहित ३५ शय्याको आइसोलेसन



डोटी, (नेस)

डोटीका स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेसन निर्माण नगरेको भन्दै आरोप लागिरहेका बेला पूर्वीचौंकी गाउँपालिकाले अक्सिजनसहित ३५ शय्याको आइसोलेसन (कोरोना अस्पताल) कक्ष निर्माण गर्ने कार्यको शुरुआत गरेको छ । कोभिड–१९ को दोस्रो चरणको संक्रमण ले जिल्लामा आक्रान्त बनाउन थालेपछि बल्ल उक्त गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन निर्माणको प्रक्रिया शुरु गरेको हो ।

गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई आइसोलेसन बनाउने कार्यपालिकाबाट निर्णय गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जिल्लामा कोरोनासंक्रमणका बिरामी दिनहुँ बढ्दै जान थालेका छन्, उपचार गर्ने ठाउँ अभाब भएका कारण हामीले सुविधासम्पन्न आइसोलेसन निर्माण गर्न थालेका हौं ।’दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको डोटीमा अहिलेसम्म अन्य कुनै पनि स्थानीय तहले आइसोलेसन कक्ष निर्र्माण गर्न सकेका थिएनन् ।

आइसोलेसन निर्माणका लागि हस्पिटलमै प्रयोग हुने ३५ वटा बेड ल्याइसकिएको र आइसोलेसन निर्माण तथा व्यवस्थापन गर्ने कामको थालनी भइरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । आइसोलेसनमा अक्सिजन सिलिन्डर राख्नका लागि आपूर्तिकर्तासँग समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्