जनशक्तिको अभावमा आइसियु र भेन्टिलेटर सञ्चालनमा आएन



दुर्गाप्रसाद शर्मा, पर्वत ।

कोभिड–१९ बाट संक्रमितले आइसियू वा भेन्टिलेटर त परै जाओस पर्याप्त अक्सिजन समेत नपाउँदा अकालमा ज्यान गुमाएका खबरहरु सार्वजनिक भैरहेका छन तर कतिपय अस्पतालहरुमा दक्ष जनशक्तिको अभाबमा यस्ता आइसियु र भेन्टिलेटर प्रयोगमा आउन नसकि थन्क्याएर राख्नुपरेको छ। यस्तै अबस्थामा छन पर्वत अस्पतालमा रहेका पाँच बेड आईसीयु र तीन ओटा भेन्टिलेटर पनि । सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर प्रयोगबिहीन भएका छन । अस्पतालमा रहेको आइसोलेसनमा रहेका बिरामी गम्भीर अबस्थामा पुग्दा बिरामीले त्यो सेवा उपभोग गर्न पाउने अवस्था छैन ।

गण्डकी प्रदेश सरकारको सहयोगमा करिब पाँच महिना अगाडि नै आइसियु र भेन्टिलेटर तयार गरिएपनि दक्ष जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको पर्वत अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । ‘यस्तो गम्भीर संकट आउँदा काम लाग्छ भनेरै पाँच महिना अघि आइसियु र भेन्टिलेटर तयारी अबस्थामा राखेका थिर्यौ ।’ अध्यक्ष पहाडीले भन्नुभयो ‘प्रदेश सरकारले जनशक्ति पठाउन नसक्दा बिरामी आइहाले त्यो सुविधा दिन नसक्ने अवस्थामा छौ भन्नु पर्दा गाह्रो महसुस भैरहेको छ ।’ यस अगाडि यसका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि विज्ञापन गरिएको भए पनि कसैको आवेदन नपरेका कारण जनशक्ति परिपूर्ति गर्न नसकिएको उहाँको भनाइ छ

अहिले पर्वत अस्पतालमा उपलब्ध रहेका चिकित्सकबाट आइसियु र भेन्टिलेटर सञ्चालन गर्न सम्भव नहुन अध्यक्ष पहाडीले बताउनुभयो । त्यसका लागि एनेस्थेसियालिस्ट तथा विशेष तालिम लिएका नर्सहरुको आवश्यकता हुन्छन । ‘आइसियु र भेन्टिलेटर जोडेर तयारी अवस्थामा छन्।’ उहाँले भन्नुभयो ‘बिरामी आए बेडमा राखेर सीधै उपचार सुरु गरे हुन्छ। तर जनशक्ति नहुँदा हामीलाई समस्या भएको छ।’

प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले हालै सात जना जनरल फिजियिसन र १२ जना एनेस्थेसियालिस्टको लागि विज्ञापन गरेको छ। यसमा छनोट भएकाहरुलाई पर्वतसहित प्रदेशका अन्य जिल्लाका अस्पतालमा पनि खटाउने तयारी प्रदेशको छ। तर यो प्रक्रिया पूरा भएर आउनको लागि केही समय लाग्छ।जनशक्ति व्यवस्थापनको काम प्रक्रियागत रुपमा चलिरहँदा संक्रमण दर ज्यामितीय आकारमा बढिरहेको छ। स्वास्थ्य संस्थामा मिनेट मिनेटमा यस्ता जनशक्तिको आवश्यकता पर्दै जान थालेको छ।

अक्सिजन उत्पादन भने प्रशस्त

अध्यक्ष पहाडीले केही महिना पहिले अस्पतालमै सुरु गरिएको अक्सिजन प्लान्टले राम्रो उत्पादन दिइरहेको बताउँदै पर्वतमा एक दिनमा कम्तीमा पनि ५० जना बिरामीलाई एकै पटकमा अक्सिजन आपूर्ति गर्न सकिने बताउनुभयो ।अस्पतालमा रहेको प्लान्टले दैनिक १६ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने र अहिले पनि आवश्यकता परेको अवस्थामा उत्पादन गर्ने गरिएको छ ।

‘अक्सिजन प्लान्टबाट जडान गरेर बिरामी राख्ने बेड बेडमा अक्सिजनको लाइन लगेका छौँ। आवश्यकता पर्दा साथ प्लान्टले उत्पादन गर्छ। तर अहिले खासै आवश्यकता नभएका कारण सिलिन्डरमार्फत अक्सिजनको प्रयोग भएको छ,’ अध्यक्ष पहाडीले भन्नुभयो ‘यहाँको प्लान्टको अक्सिजन उत्पादनले ५० बेड क्षमताको अस्पताललाई धान्न सक्छ। अर्थात् हामीहरु एकै पटकमा ५० जनालाई अक्सिजन आपूर्ति गर्न सक्ने अवस्थामा छौँ।’

प्रतिक्रिया दिनुहोस्