काभ्रेपलाञ्चोकमा निषेधाज्ञा एक साताका लागि थपिदै, सहकारी र बैंक आलोपालो संचालन हुने



मोतीराम तिमल्सिना, काभ्रे ।

उपत्यकामा निषेधाज्ञा थपिएको तथा जिल्लामा कोभिड १९ का विरामीहरु बढ्दै गए पछि एक साता अघि आंशिक निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आईतबार राति १२ बजेसम्मको निषेधाज्ञाको अवधी बढाउने तयारी गरेको छ ।

‘सिमित क्षेत्र र स्थानको निषेधाज्ञालाई फराकिलो बनाउँदै सक्रमण नियन्त्रणको प्रयास गरिएको छ’– प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘संक्रमित विरामीहरुको बढ्दै गएको र उपत्यकामा समेत निषेधाज्ञा जारी रहेकाले एक साताका लागि निषेधाज्ञाको अवधी बढाउने तयारीमा छौं ।’ बैशाख २६ गते आईतबार राति १२ बजेबाट सकिने निषेधाज्ञाको दोश्रो अवधी जेठ २ गते राति १२ बजेसम्म कायम हुनेछ । बैशाख २८ गते आमाको मुख हेर्ने दिन हो । उक्त दिन आमाको मुख हेर्न जानेआउनेहरुको घुँईचो हुने भएकाले प्रशासनले कडाईका साथ निषेधाज्ञा कार्यान्वयन गराउन स्थानीय चौकी तथा मातहतका निकायहरुलाई निर्देशन दिईसकेको छ ।

दोश्रो चरणको निषेधाज्ञामा वित्तिय क्षेत्रलाई समेत कडाई गरिनेछ । यस अघि वित्तिय क्षेत्रका सहकारी, बैक र विमा कम्पनीहरु निर्वाध संचालन भईरहेका थिए । आईतबारबाट लागु हुने गरी वित्तिय क्षेत्र अन्र्तगत बैकहरु आलोपालो गरी संचालन हुनेछन् । त्यस्तै सहकारीहरुले साताको दुई दिन मात्र संचालन हुनेछन् । सहकारीहरुले शेयर सदस्यहरुको सहजताका लागि सातामा दुई दिन संचालन गर्नेछन् । बैक र सहकारी नियमित संचालन हुँदा निषेधाज्ञा कार्यान्वयनमा जटिलता देखिएको थियो । सडकमा भिडभाड बढेसँगै प्रशासनले वित्तिय क्षेत्रको ब्यवस्थापन गर्न लागेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

भिडभाड नियन्त्रण गर्न बजार खुल्ला हुने समयमा समेत हेरफेर गर्न सुझाव दिईएको छ । जिल्ला समन्वय समिति काभ्रेले आयोजना गरेको कोभिड रोग नियन्त्रण सम्वन्धी बैठकमा सहभागिहरुले बजारमा भिडभाड रोकिन नसकेकाले खाद्यान्न लगायतका अत्यावश्यक पसलहरु खुल्ला रहने समय परिवर्तन गर्न सुझाव दिएका हुन् । दोश्रो पटक जारी हुने निषेज्ञाज्ञामा केहि हेरफेर हुनेछ भने अहिले लगाईएको निषेज्ञाको क्षेत्र आवश्यकता अनुसार बढाउन सकिने छ । स्थानीय प्रशासनले जिल्लाका प्रमुख शहरहरु बनेपा, पनौती, धुलिखेल, मण्डनदेउपुर, पाँचखाल, नमोबुद्ध नगरपालिका अन्र्तगत मुख्य बजारचोक र राजमार्गबाट ५ सय मिटर देखि १ किलोमिटरसम्म निषेधाज्ञा गरेको छ । त्यस्तै रोशी गाउँपालिकाको विपी राजमार्ग अन्र्तगत मंगलटारको क्षेत्र भित्र निषेधाज्ञामा छ । पनौती, बनेपा र धुलिखेलका केहि क्षेत्र संक्रमणको मुख्य केन्द्र बनिरहेको छ ।

पालिकाका मुख्य केन्द्रहरु शहरोन्मुुख भएकाले पालिकाहरु स्वंय आफुले भिडभाड नियन्त्रणका लागि योजना बनाई कार्यान्वयन गर्ने भए पनि सर्वसाधारणहरुको जमघट बाक्लै छ । जिल्लामा शुक्रबार साँझसम्म सक्रिय संक्रमितको संख्या ९ सय ६४ पुगेको छ । बनेपा धेरै संक्रमित भएको नगरपालिका हो ।

प्रतिक्रिया दिनुहोस्