सुनचाँदी पसलका सञ्चालक १२ करोड ठगेर फरार



हरिहर नेपाल, मोरङ ।

पछिल्लो समय मानिसहरू परिश्रमबिनै धेरै पैसा कमाउने ध्याउन्नमा देखिन्छन् । राम्रो ब्याज पाउने प्रलोभन पाएपछि कस्तो मानिस हो, भोलि पैसा बिग्रिने पो हो कि भन्नेसमेत नसोची पैसा दिँदा ब्याज त परै जाओस् साँवा पैसा नै हराउने सम्भावना हुनेगर्छ ।

ठीक त्यस्तै भएको छ मोरङको उर्लाबारी नगरपालिकामा पनि । मोरङको उर्लाबारी–६ स्थित गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भनेर चिनिने गोपाल गौतम १२ करोड ठगेर फरार भएपछि उनलाई पैसा दिनेहरूको अहिले अवस्था त्यस्तै छ ।गौतम ३ सयभन्दा बढीको १२ करोडभन्दा बढी रकम लिएर फरार भएपछि पीडितहरू बिचल्लीमा परेका छन् । सयकडा २ रुपैयाँ ब्याज दिने प्रलोभनमा पारी उनले मानिसहरूबाट पैसा संकलन गरेका थिए ।उनकोमा पैसा राख्नेमा दैनिक गुजारा गर्नेदेखि लिएर राज्यबाट आएको वृद्धभत्ता जोगाएर पैसा जम्मा गर्ने वृद्धवृद्धासम्म छन् । आफ्नो गाँस कटाएर जम्मा गरेको वृद्ध भत्तासमेतको रकम लिएर सुनचाँदी पसलका सञ्चालक गौतम फरार भएपछि उनीहरू न्यायका लागि हारगुहार मागिरहेका छन् ।वृद्धभत्ताबाट बचाएर धेरै ब्याज आउने आशामा १ लाख ५० हजार रुपैयाँ दिएको स्थानीय पदम भण्डारी बताउनुहुन्छ । शुरूशुरूमा राम्रो व्यवहार गरेकाले विश्वासमा परेर पैसा दिँदा समस्यामा परेको सफारी चलाएर जीविकोपार्जन गर्दै आउनु भएका अर्का पीडित गोविन्द खनालको गुनासो छ ।

न्यायिक समितिमा उजुरी परेपछि उर्लाबारी नगरपालिकाको पहलमा स्थानीय गजेन्द्र डाँगीको नेतृत्वमा सहजीकरण समिति बनाइएको छ । अहिले त्यही समितिले न्यायका लागि पहल गरिरहेको छ ।नगरपालिकाको न्यायिक समितिले राखेको छलफलमा गौतमले सबैको पैसा तिर्ने भने पनि उनी पछिल्लो समय फरार रहेको पीडित डाँगीले बताउनुभयो । उजुरी दिए पनि प्रहरीले पनि बेवास्ता गरेको उहाँको आरोप छ ।तर, उहाँ अदालतमै पुगेरै भए पनि न्याय दिलाएरै छाड्ने प्रतिबद्धता जनाउनुहुन्छ यसरी स्थानीयको रकम कुम्ल्याएर फरार रहेका गौतमलाई प्रहरी प्रशासनले पक्राउ गरेर कारबाही गर्ने आशा मरेको छैन पीडितकोे ।तर, अझैसम्म पनि गौतमलाई प्रहरी पक्राउ गर्न नसक्नु आश्चर्यजनक भएको पीडितको भनाइ छ । पीडितसमेत रहनुभएका सहजीकरण समितिका संयोजक डाँगीले कतैबाट पनि न्याय नपाएपछि आफूहरू मिडियामार्फत भए पनि घटनालाई सार्वजनिक गरेको बताउनुभयो ।

उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष प्रीतम खड्गी भने बढी व्याज आउने लोभले नबुझीकन पैसा दिँदा समस्या आएको बताउनुहुन्छ । यता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले घटनाका बारेमा आफूलाई कुनै जानकारी नआएको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्