जनताप्रति उत्तरदायी सरकार कहिले पाउने नेपालमा ?



नेपालका सबै सरकार उस्तै रहेछन् । कोही पनि जनताप्रति बफादार भएको पाइएन । जनताको करमाथि रजाइँ गर्न नेता बनेकाहरुलाई लाज पनि लाग्दैन । दैनिक काण्डहरु सार्वजनिक हुँदा पनि जनता मस्त निन्द्रामा छन् । सरकारले मजपरी नियुक्ति दिएर आफ्ना मान्छे पालिरहेको छ । तर जनता कोरोना विरुद्धको खोप नै नपाएर मरिहरहेका छन् । सरकार कमिसनमा कुरा नमिलेर मौनधारण गरिरहेको छ । आफ्ना स्वार्थका लागि अत्यन्तै छिटो निर्णय गर्न सक्ने सरकार जनताका समस्या सुनेर पनि कानमा तेल हालेर सुतेको नाटक गरी बस्छ ।
राष्ट्रिय ढुकुटीमा हुन लागेको यो ब्रह्मलुटको नग्ननृत्य हेर्न हामी करिब ३ करोड नेपाली जनता बाध्य भएका छौँ ।

दुई छाक अन्न पेटभरि खान नपाउने सीमान्तकृत जनताका प्रतिनिधिहरूले यसरी आफ्नो पदावधि समाप्त भएपछि प्राप्त हुने सेवा–सुविधाको चिन्ता गरेको देखेपछि उनीहरू हाम्रा जनप्रतिनिधि हुन् भनेर भन्न पनि लाज लागेको छ । महत्वपूर्ण पदमा पुगेका जनप्रतिनिधिहरूले जनताको लागि नभएर आफ्नो मात्र चिन्ता गरेपछि उनीहरूको सक्कली पहिचान सार्वजनिक भएको छ ।प्राकृतिक स्रोत, साधन र सम्पदा पर्याप्त मात्रामा हुँदाहुँदै पनि त्यसको उचित प्रयोग र परिचालन हुन नसक्दा गरिब हुनुपरेको देश हो नेपाल । देश विकासका पूर्वाधारहरू तयार पार्न र वैदेशिक लगानी भित्र्याएर औद्योगिक मुलुक बनाउनेतर्फ अग्रसर हुनुपर्ने हाम्रा नेताहरू अहिले ‘मै खाऊँ मै लाऊँ’ को चरित्र चित्रण गरिरहेका छन् । यो आफैँमा एउटा घिनलाग्दो कर्तुत हो ।

आमजनताको आर्थिक हैसियतभन्दा बीसौँ गुणा बढी रकम राष्ट्रिय ढुकुटीबाट लिन कानुनी आधार तयार पार्नु आफैँमा अत्यन्त अशोभनीय कार्य हो । नेपाली जनताको मलीन अनुहार हेरेर ‘म यति धेरै सुविधा लिन्न’ नेताले भन्न सक्नुपर्दछ । नेपाली जनताले खाई–नखाई जम्मा गरेको करको पैसाको लुट गर्ने सांसद चाहिँदैन ।देशको उन्नति गरे सबैको आर्थिक अवस्था मजबुत हुन्छ । यसमा कसैको ध्यान छैन । यदि कुनै भीआईपीले छिमेकी मुलुक भारतका महान् त्यागी नेता गान्धीजस्तै एउटा धोतीको भरमा जीवन बिताउनेछु भनेर अहिले किन भन्न सकिरहेको छैन ? यहाँ सबै कमाउनका लागि राजनीति गर्नेको ताँती छ, त्यही भएर । गणतन्त्रलाई नै बदनाम हुने गरी हुन लागेको यो सुविधा वृद्धिले तमाम नेपालीको शिर झुकाएको छ ।

– सुनिता शाक्य, लगनखेल, ललितपुर ।

 

प्रतिक्रिया दिनुहोस्