बलिउडको अवसर लत्याउने गायकको अवशान



विदुर गिरी, काठमाडौं

संसारभरका कलाकारका लागि सपनाको नगरी मानिने बलिउडमा पुगेर अवसरमाथि अवसरलाई त्यागेर नेपालको मायाले स्वदेश फर्केर आफ्नै देशको गीत–संगीतमा सक्रिय मखमली स्वरका गायक प्रेमध्वज प्रधान अब यो धर्तीमा रहेनन् ।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि सुन्धाराको बागदरबारस्थित काठमाडौं न्युरो एन्ड जनरल अस्पतालमा भर्ना भएका उनले उपचारका क्रममा बिहीबार करिब पौने २ बजे त्यहीं नै जीवनको अन्तिम सास फेरे । छायांकार मञ्जुकुमार श्रेष्ठका अनुसार उनको हृदयाघातका कारण निधन भएको हो । उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छायांकार श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी गराए । गीत गायनकै सिलसिलामा मुम्बई पुगी बलिउडकै प्रतिष्ठित मानिएको फिल्म फेयर अवार्ड समारोहमा भ्वाइस अफ नेपालको उपनामसँगै ठूलो प्रशंसा पाएका प्रेमध्वले आफ्नो जीवनभर मखमली स्वरबाट गीत गाएर गीत–संगीतको क्षेत्रको पूजा गरे । ७ सय ५० भन्दा बढी गीतका धनी यी मूर्धन्य गायक सांगीतिक क्षेत्रमा जति स्थापित छन्, त्यति नै धेरै उनका सुख, दुःख, सफलता, असफलता, आरोह र अवरोहका कथासँग सधैंका लागि विलिन भएका छन् ।

बुवाआमाबीच सम्बन्ध विच्छेद भएपछि आमाका लागि खर्च जुटाउन मासिक १ सय रुपियाँ तलब पाउने गरी रेडियो नेपालमैै जागिर खान तयार भए पनि नदिइएपछि जीवनभर रेडियो नेपालमा गीत नगाउने प्रण गरेका प्रेमध्वज पछि त कसो जागिर नदेलान् भन्ने आशमा अमेरिकन लाइब्रेरीमा स्वयंसेवक भएर काम गर्नसम्म तयार भएकोदेखि लिएर दिनभरि बुबाको पसलमा बसेर बेलुकी स्कुल पढ्दा एसएलसीमा फेल भएकाले पढाइ छोडी भारत घुम्न गएको, त्यहाँबाट जीवन र जगत् बुझी फर्केर अध्ययनलाई अगाडि बढाएको, साथीको पछि लागेर रेडियो नेपालमा स्वर परीक्षा दिन गएकोजस्ता अनेकन वास्तविक कथा छोडेर बिदा भएका छन् ।एउटै अन्तरा १२ प्रकारले गाउन सक्ने खुबी भएका प्रेमध्वजले जागिर नपाएको झोकमा भारत जान लाग्दा साझा बसको काउन्टरले टिकट नदिएकै कारण जागिर पाएपछि यतै रोकिएको, स्वर बिग्रिएर हाई पनि नजाने लो पनि नजाने भएर अप्रेसन गर्दा स्वर नआएपछि गितार सिकेको, बच्चु कैलाश, माणिकरत्न स्थापित, तारादेवी, नारायण गोपालजस्ता ख्यातिप्राप्त गायकहरुलाई उछिन्दै पहिलो पुरस्कार चुम्न सफल भएको, दबु प्याख“ (सडक नाटक) हेर्न पुग्दा नमान्दानमान्दै पनि हिरोइन बनाइएको, निजी क्षेत्रबाट बनेको पहिलो फिल्म माइतीघरको हिरो बन्ने अफर लाजले अस्वीकार गरेको, मुम्बईमै बसेर गाउने सुनौलो अफर त्यागेकोजस्ता सुख–दुःखका कथा छोडेर अचानक ८४ वर्षको उमेरमा बिदा भएपछि कलाकर्मी तथा प्रशंसकहरुले दुःख प्रकट गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आधुनिकदेखि फिल्मीसम्म, नेवारीदेखि नेपालीसम्म, लोकशैलीदेखि भक्ति गीतसम्मलाई मखमली स्वरले सजाएर नेपाली गीत संगीतको क्षेत्रमा कालजयी गीत दिँदै आएका गायक प्रधानको परिवारमा श्रीमती र दुई छोरा छन् । दुवै छोरा अमेरिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्