कोरोनाका नाममा कमिसन खाएर नेपालीलाई मार्नेहरू को हुन् ?



नागरिक अभियन्ता / डा. सुन्दरमणि दीक्षित

भारतबाट ल्याउन ठीक पारिएको कोरोनाको खोप प्रधानमन्त्री निकटका व्यक्तिहरुको प्रभावमा कमिसनका लोभले नल्याइएको जानकारीले मलाई स्तब्ध बनाएको छ ।यो मुद्दा गोकुल बाँस्कोटाको जस्तो होइन, यो त नागरिकको जीवनमाथिको खेलबाड हो । समयमै त्यो खोप आएको र नेपालीले लाउन पाएका भए आज दैनिक ५०-६० जना मरेको दुःखद समाचार जो देख्नु–सुन्नुपरेको छ, त्यो पर्ने थिएन । यसको अर्थ हो, कमिसनका कारण नेपालीको ज्यान गइरहेको छ । यो खालि भ्रष्टाचार मात्र होइन, हत्या हो, गम्भीर प्रकृतिको फौजदारी अपराध !

यस अपराधको तत्काल छानविन हुनुपर्छ । जो–जो व्यक्ति संलग्न छन् उनीहरुलाई कानुनी कठघरामा उभ्याउनै पर्छ । प्रधानमन्त्रीको आडमा बसेका व्यक्तिको सहयोगमा कमिसनखोरले खोप ल्याउन ढिला गरेका कारण नेपालले खोप नपाएको हो भने ती व्यक्तिको नाम सार्वजनिक हुनुप-यो ।स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले कमिसनखोरले काम गर्न नदिएको, उनीहरुकै कारण दुई महिनाअघि खोप ल्याउन चाहेर पनि नसकेको जो उल्लेख गर्नुभएको छ, त्यो अर्को गम्भीर पक्ष हो । यदि मन्त्री त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई महिनाअधि नै यो जानकारी दिनुभएको थियो र पनि उहाँ चुप लाग्नुभएको हो भने दोषी उहाँ पनि हो ।यसघटनाको तत्काल छानबिन यस कारण पनि आवश्यक छ कि, मान्छे मरेका छन् भन्ने गरिएकोमा मारिएका पो रहेछन् भन्नुपर्ने भएको छ । त्यसैले तीन-चार दिनमै कसको गल्ती हो, पारदर्शी र जनताले स्वीकार्ने गरी छानविन गरेर प्रतिवेदन बाहिर ल्याउनुपर्छ ।प्रधानमन्त्री ओलीलाई जानकारी भएर पनि उहाँ चुप लाग्नुभएको हो भने यस हत्यामा उहाँ संरक्षक भएको प्रमाणित हुन्छ ।

यस अपराधका लागि तत्काल राजीनामा दिनुपर्छ । हृदयश त्रिपाठीले झुटो बोलेको भए उहाँलाई प्रधानमन्त्रीले निष्कासन गर्नुपर्छ । संसद् विघटन राजनीतिक मुद्दा थियो, त्यसमा मैले राजीनामा मागिनँ, तर यो त फौजदारी अपराध हो, पदमा बसिरहन मिल्दैन ।मन्त्री त्रिपाठीलाई रुनका लागि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्राप्त भएको होइन । काम गर्न नसक्नेले तत्काल पद छोड्नुपर्छ । कमिसनखोरलाई त झन् छोड्ने कुरै हुन्न ।छानबिन भारतको सेरम इन्स्टिच्युटसम्म पुग्नुपर्छ । प्रतिखोप चार डलरमा आपूर्ति गर्ने सहमति गरेर भुक्तानीसमेत लिइसकेको उसले किन ६ डलरको कुरा ग-यो । भारत सरकारको मातहतमा रहेको सिरममा कमिसनको कुरा गर्न नेपालबाट को गयो, पत्ता लगाउनुपर्छ । सरकारसँग भएको सहमति बदल्ने हैसियतवाला त्यो शक्ति को हो ? नेपालीले किन यसरी मर्नुपरिरहेको छ, मार्नेहरुको नाम चाहियो ।

प्रतिक्रिया दिनुहोस्