मुगुमा निषेधाज्ञा जारी



मुगु, (नेस)

हिमाली जिल्ला मुगुमा निषेधाज्ञा जारी भएको छ । विश्व महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो लहर मुगुमा दिन प्रतिदिन व्यापकरूपमा देखिन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले निषेधाज्ञा जारी गरेको हो ।

वैशाख २१ गते बसेको बैठकले वैशाख २२ गते बुधबार राति १२ बजे वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । दिन प्रतिदिन कोरोना संक्रमितका बिरामी बढिरहेकाले निषेधाज्ञा गरिएको डीसीसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चन्दबहादुर शिवाकोटीले बताउनुभयो । डीसीसीएमसी मुगुले वैशाख २२ गते राति १२ बजे देखि ३१ गते राति १२ बजे सम्म मुगु जिल्ला भर लागँ हुने गरी सो निर्णय गरेको हो । अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारीसाधनबाहेक अन्य सबै प्रकारका सेवा, सवारीसाधन पसल तथा व्यवसाय, अत्यावश्यकबाहेकका कामकाजका लागि हिँडुलमा समेत निषेध गरिको उहाँको भनाइ छ ।

कोभिड–१९ संक्रमणको दोस्रो नयाँ भेरियन्ट कडा र फरक प्रकृतिको कडा भएका पछिल्लो एक सातामा मुगु जिल्लाको सदरमुकाम गमगढी बजार र छायाँनाथ रारा नगरपालिकाभित्र १२ जना र खत्याड गाउँपालिकाभित्र ३ जना गरी १८ जना कोरोना संक्रमण भइसकेको छ । जसमध्ये २ जना बालबालिका रहेका छन् । केही संक्रमितको स्वास्थ्य अवस्था सामान्य देखिएकाले स्वास्थ्यसम्बन्धी सचेतना दिई होम इसोलेसनमा बस्नका लागि घर पठाइएको र २ जनालाई जिल्ला अस्पताल ठिनी र ३ जनालाई प्रथमिक स्वास्थ्य संस्था रातोपानीमा राखी उपचार भइरहेको जिल्ला अस्पताल ठिनीका सँचना अधिकारी पर्शुराम नेपालीले जानकारी दिनुभयो ।

खत्याड गाउँपालिकामा ४ जनामा एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिए पछि यसबाट बच्न र बचाउनका लागि गाउँपालिकाभित्र एक गाउँबाट अर्को गाउँ जान रोक लगाइएकोे छ ।
हुम्लामा पनि वैशाख २८ गते राति १२ बजेसम्म लागँ हुने गरी निषेधाज्ञा जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्