लुम्बिनी प्रदेशमा कोरोना भयावह ६ सय स्वास्थ्यकर्मी थपिँदै



न्युज अफ नेपाल बुटवल ।

लुम्बिनी प्रदेशका तराईका जिल्लामा कोरोना भाइरसको संक्रमणले त्राहिमामको अवस्था सिर्जना गरेको छ । संक्रमणको संख्या, मृत्युको दर हरेक दिन बढ्दो गएकाले लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना विशेष अस्पतालमा यी जनशक्ति अस्थायी रूपमा भर्ना गर्न लागिएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १ सय ८९ दरबन्दी थपिँदै छन्। त्यस्तै बेलझुन्डीस्थित राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालमा १ सय ७१, भेरी अस्पताल नेपालगन्जमा १ सय ५२ र भैरहवाको भीम अस्पतालमा ७१ दरबन्दी थप्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए।

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा ३६ वटा एचडीयू बेड थप गरिएको छ। सरकारले कोभिड नियन्त्रण तथा उपचार कोषमा १० करोड थप गरेको छ। कोषमार्फत २० करोड खर्च भइसकेको छ। अस्पतालका बिरामीको उपचार, उपकरण, औषधि, स्वास्थ्यकर्मीको जोखिम भत्ता यसैमार्फत व्यवस्थापन हुने गरेको छ।

निजी अस्पतालमा हुने उपचारको शुल्कसमेत सरकारले तिरिदिने व्यवस्था गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको उपचार शुल्कमा एकरुपता ल्याउदै उपचार खर्च बेहोर्ने निर्णय गरेको हो। अक्सिजनसहितको एक बेडको प्रतिदिन ३ हजार ५ सय, आईसीयू एचडीयूसहितको एक बेडको ७ हजार र आइसियु भेन्टिलेटरसहितको एकदिन एक बेडको १५ हजार शुल्क तोकिएको छ। सरकारले यस अनुसारको शुल्क निर्धारण गरी तिरिदिने व्यवस्था गरेकाले त्यसभन्दा धेरै शुल्क लिन नपाइने मन्त्रालयले जनाएको छ।

बिरामीलाई अब निशुल्क अक्सिजन

बुटवल उपमहानगरपालिकाले विरामीलाई निशुल्क अक्सिजन उपलब्ध गराउने योजनासहित अक्सिजन बैंक स्थापना गरिएको छ।  उपमहानगरपालिकाभित्र बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई स्वासप्रश्वासमा समस्या भएका तत्काल स्वास्थ्यकर्मीसहित  निःशुल्क अक्सिजन लिएर टोली  पुग्नेछ।

उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्डर, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुनेगरि व्यवस्था मिलाइएको नगरप्रमुख शिवराज सुवेदीले बताए।

होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै भए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्