कांग्रेसको नेतृत्वमा सरकार बनाउने गृहकार्य



मधुसूदन रायमाझी, काठमाडौं

ओली नेतृत्वको सरकार विस्थापित गरेर माओवादी केन्द्र र जनता समाजवादी अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहको समर्थनमा कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठनको गृहकार्य अगाडि बढेको छ । कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने औपचारिक निर्णय गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा खनाल–नेपाल समूहका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव समूहसँगको भेटघाटलाई तीव्रता दिएको छ । उपेन्द्र यादव नेतृत्वको समूहले देउवालाई समर्थन गर्ने बताए पनि एमालेका नेता नेपाल समूहले समर्थन गर्ने कि नगर्ने भन्ने विषयको टुंगो लाग्न सकेको छैन ।

सभापति देउवा अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि नेपाल समूहको समर्थनको प्रतीक्षामा रहनुभएको छ । नेपाल समूहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुअघि नै सामूहिक राजीनामा दिने विषयमा छलफल गरिरहेको छ । तर, औपचारिकरूपमा निर्णय भने लिइसकेको छैन । माओवादी केन्द्रले बुधबार ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक पत्र संसद् सचिवालयमा दिएको छ ।प्रधानमन्त्री ओलीको वैशाख २७ गते विश्वासको मत लिने कोशिस असफल भएको अवस्थामा संसद्मा रहेका दलले बहुमत रहेको दाबीसहित नयाँ सरकार गठनको गृहकार्य अगाडि बढ्नेछ ।प्रधानमन्त्री ओलीले नेपाल पक्षका सांसदले विश्वासको मत दिएको अवस्थामा जसपाको महन्त ठाकुर र राजेन्द्र महतो नेतृत्वको समूहले समर्थन गरे सहजै बहुमत पुग्ने आँकलन गर्नुभएको थियो । एमालेको १ सय २१ र जसपाको महन्त समूहको १६ गर्दा सांसदको संख्या १ सय ३७ पुग्ने अवस्था रहेको छ । तर, नेपाल समूहले संसद् बैठकअघि नै राजीनामा दिएको अवस्थामा विश्वासको मत लिन ओलीसँग पर्याप्त सांसद नहुने निश्चित भएको छ ।

जसपाका एक नेताले संसद्मा आफ्नो पार्टीले मत नदिने दाबी गरे । उनले नेपाल समचारपत्रसँग भने– ‘वैशाख २७ गते जसपाले मत दिँदैन , त्यसपछि प्रधानमन्त्रीले विश्वासको गुमाउनेछन् । अन्य दलले सरकार गठन गर्नका लागि बहुमत पु-याउन नसके, फेरि नयाँ कोर्स अगाडि बढ्छ ।’प्रधानमन्त्री ओली आफूले विश्वासको मत लिन नसक्ने अवस्थामा जसपाका महन्त ठाकुर समूहका सांसदले मत नदिने नीति लिएको बताइएको छ । जसपाले मत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि एमाले र कांग्रेस माओवादी केन्द्रको बहुमत पुग्दैन । यस्तो अवस्था सिर्जना भए सरकार गठन हुन नसक्ने अवस्था सिर्जना गरेर प्रधानमन्त्री ओली पुनः संसद् विघटन गरेर निर्वाचन गर्ने योजनामा रहनुभएको छ ।

यसैबीच आफूलाई विश्वासको मत दिन आग्रह गर्दै प्रधानमन्त्री ओली आफू निकटका नेतासहित कांग्रेस सभापति देउवा निवासमा पुग्नुभएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत मागे पनि सभापति देउवाले विश्वासको मत दिन नसकिने जवाफ दिनुभएको छ ।कांग्रेस–एमालेको छलफलपछि प्रतिक्रिया दिँदै कांग्रेसका सहमहामन्त्री प्रकाशरण महतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने जवाफ दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी विपक्षी दल हौं, सरकारको क्रियाकलापले मत दिन सकिने अवस्था छैन ।’ उहाँले कांग्रेसको घोषित नीति विश्वासको मत असफल बनाउने नै रहेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले कांग्रेससँग विश्वासको मत मागे पनि आफ्नै दलका असन्तुष्ट वरिष्ठ नेता नेपाल समूहका नेताहरूसँग भने छलफल गर्नुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्