कोरोना संक्रमितहरुको अस्पताल नपुग्दै निधन, अधिकांशमा उस्ताउस्तै लक्षण



मोतीराम तिमल्सिना, काभ्रे ।

कोरोना संक्रमण समुदायमा फैलिरहँदा संक्रमितहरुको उपचार नहुँदै र परिक्षण नभई लक्षण मिल्ने ब्यक्तिहरुको धमाधम निधन हुन थालेको छ । समयमै परिक्षण र उपचारका लागि अस्पताल आउन स्वास्थ्य कार्यालय काभ्रेले नागरिकहरुमा अनुरोध गरेको छ । बुधबार दिउसो बनेपा नगरपालिका वडा नम्वर १४ भैसेपाटी घर भएका ४२ बर्षिय युवालाई कोरोना संक्रमणका कारण असहज भयो । परिवारका सदस्यहरुले तत्कालै बनेपा स्थित शिर मेमोरियल अस्पताल बनेपा पु¥याए ।

शैया अभावका कारण धुलिखेल अस्पताल पु-याउँदा पु-याउँदै उहाँको निधन भयो । उहाँ केहि दिन अघि संक्रमित भई घरमै आराम गरिरहनु भएको थियो । मंगलबार बनेपामा निधन भएका ४२ बर्षिय युवा ब्यवसायीको पनि उपचार गर्न लैजाने क्रममा बाटोमै निधन भयो । अघिल्लो दिन सोमबार उहाँको परिक्षणका लागि स्वाब दिए पनि निधन भईसक्दा समेत रिपोर्ट प्राप्त भएको थियो । मंगलबार निधन भएकी बनेपा १ कि ६२ बर्षिया महिलाको पनि उपचारका क्रममा अस्पतालको गेटमै निधन भएको थियो ।

मण्डन देउपुर नगरपालिकाका ७८ बर्षिय पुरुषको पनि अस्पताल ल्याएको केहि दिनमै निधन भएको थियो । सात दिनमा निधन भएका १७ मध्ये केहि बाहेक अधिकांशको अस्पतालमा उपचार शुरु नहुँदै निधन भएको अस्पतालले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले संक्रमण भएर घरमै बसिरहने र अन्तिम अवस्था भए पछि अस्पताल आउने गरेकाले उपचार नै शुरु नभई निधन हुने गरेको बताउनु भयो ।

‘नागरिकहरुलाई संक्रमणको दर बढिरहेको अवस्थामा लक्षण देखिने ब्यक्तिले तत्कालै परिक्षण र उपचारका लागि आउन अनुरोध गरिरहेका छौं’–डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘संक्रमण भएकाहरु उपचार गर्न अस्पताल नआउने र लक्षण देखिएकाहरु परिक्षण नै नगर्ने कारण मृत्यु हुने क्रम बढेको छ ।’ लक्षण मिल्ने तर परिक्षण नभएका केहि ब्यक्तिहरुको अस्पताल आउँदा आउँदै निधन हुने गरेको छ भने केहिको घरमै निधन भएकाले अस्पताल ल्याउन भ्याईएको छैन ।

बुधबार धुलिखेल नगरपालिका वडा नम्वर १० की ६० बर्षिया महिलाको निधन भयो । चार दिन देखि लक्षण मिल्ने कोरोना भाईरसको संक्रमण भए पनि उहाँको परिक्षण गरिएको थिएन । सरकारले पछिल्लो समय मरेपछि परिवारको अनुरोधमा बाहेक पिसिआर गर्न नपर्ने निर्णय गरेपछि त्यस्ता ब्यक्तिहरुको परिक्षण हुने गरेको छैन । बनेपाको शिर मेमोरियल अस्पतालको गेटमा आईपुग्दा निधन भएकी महिलाको लक्षण कोरोनासँग मिल्दोजुल्दो भए पनि परिवारले परिक्षण गर्न मानेन । पनौती स्थित त्रिवेणी धाममा बुधबार नै उहाँको अन्त्यष्टी गरिएको छ । वडा अध्यक्ष पुष्प राउतले उहाँलाई उपचारमा लैजाने र शव अन्त्येष्टीमा सहभागिहरुको कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्ने गरी अलग्गै बस्न अनुरोध गरिएको बताउनु भयो ।

बनेपाको एक सुन पसलमा काम गर्ने ३८ बर्षिय भारत घर भएका युवाको लक्षण मिल्दोजुल्दो भएकाले उपचारका क्रममा अस्पताल पु¥याउँदा पु¥याउँदै निधन भए पनि स्वाब परिक्षण गर्दा कोरोना भाईरसको संक्रमण देखिएको थियो । उहाँसँग बस्ने अन्य केहि ब्यक्तिहरुमा पनि संक्रमण देखिएको अस्पतालले जानकारी दिएको छ । समुदायमा भयावह अवस्था सिर्जना भईसक्दा पनि केहि पालिकाहरुले बाहेक अधिकांशले पहिलाको जस्तो नागरिकहरुलाई सहज हुने गरी स्वाब संकलन गरेका छैनन । ब्यक्ति आफै अस्पताल वा प्रादेशिक ल्याव पुगेर स्वाव दिएका आधारमा मात्रै संक्रमण न्युनिकरण हुने अपेक्षा गर्न नसकिने डा. नरेन्द्रकुमार झाले बताउनु भयो । बुधबार दिउसो बनेपा १४ निवासी ४२ बर्षिय युवा, धुलिखेल ५ निवासी ७१ बर्षिया महिला र धनगढी निवासी ७० बर्षिय पुरुषको धुलिखेल अस्पतालमा निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्