सरकार जे गरोस्, तर हामी मापदण्डभित्र बसौं : गौरी मल्ल



यक्षले धर्मराज युधिष्ठिरलाइ प्रश्न गर्नुभयो ‘किं आश्चर्यम् (आश्चर्य के हो)?’

युधिष्ठिरले जवाफ दिनुभयो – अहन्यहनि भूतानिः गच्छन्ति यममन्दिरम्।

शेषाः जीवितुमिच्छन्ति किमाश्चर्यमतः परम्।।

अर्थात् – प्रतिदिनभूत, (प्राणी मात्र) मृत्युको ग्रास बन्छन् अनि उनीहरू यमलोक गएको हामी देख्छौं। शेष (जसको पालो आएको छैन, जो अझै जिउँदै छन्), स्थिरताको इच्छा राख्छन्। (उनीहरू सोच्दछन, कि हामी कहिले मर्दैनौं), यो भन्दा ठूलो अरु कुन आश्चर्य हुन सक्छ?
म पनि भन्छु यो भन्दा ठूलो उत्तर अरु के हुन सक्ला?

यतिबेला नेपालमा दिनानुदिन द्रुत गतिले बढ्दै गएको कोरोना संक्रमितको आँकडा हेर्दा हामी सबैमाकतै माथि उल्लेखित यक्ष र युधिष्ठिरको प्रसंग त लागू भइरहेको छैन? हामी स्वयंलाई यो घमण्ड त आइरहेको छैन किमलाई त केही हुन्न। हाम्रो मुलुक यसै पनि हरेक कुरामा स्वार्थमा लिप्त राजनीतिज्ञहरूद्वारा सञ्चालित मुलुक हो । जसका कारण हामी हरेक कुरामा पछाडि परिसकेका छौं । हामीसँग आपतकालीन अवस्थालाई झेल्न सकिने कुनै पनि स्वास्थ्य साधन उपलब्ध छैन। हस्पिटल, उपकरण, शै्यया, जनशक्ति, केही केही पर्याप्त छैनन्। त्यसैले म हात जोडेर विनम्रतापूर्वक सबैमा अनुरोध गर्छु कृपया आफुलाई सरकारले तोकेको स्वास्थ्य मापदण्डभित्र राख्नुहोस्। त्यो अर्कै कुरा हो सरकार स्वयम् आफूले बनाएको मापदण्डभित्र बसेको देखिँदैन। आफ्नो मनोबललाई उच्च स्थानमा राख्दै आफू बच्नुहोस् । आफ्नो परिवार अनि हाम्रो यो सानो समाज र यो सुन्दर मुलुकलाई बचाउनुहोस्।

प्रतिक्रिया दिनुहोस्