निफमा जोडिँदै अनुराग कस्यप र प्रताप सुब्बा



कोरोना कहरकाबीच पनि नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) हुने भएको छ। नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष तथा फेस्टिभल निर्देशक केपी पाठकले फेस्टिभल अवधिभर नेपाली सिनेमा सम्बन्धी विभिन्न विषयमा छलफल हुने जानकारी गराएका छन्।

भोलि  बिहीबारदेखि २७ गतेसम्म चल्ने फेस्टिभलमा नियमित फिल्म प्रदर्शनका साथ छलफल पनि हुने उनले जानकारी गराए। पाठकका अनुसार पहिलो दिन बलिउड निर्देशक अनुराग कश्यपले फिल्मका बारेमा आफ्ना कुरा राख्ने छन् भने २४ गते विजय सुब्बा, विश्व प्रकाश शर्मा, सत्या पहाडी र गंगानारायण श्रेष्ठले राजनीतिज्ञको दृष्टिमा फिल्म शीर्षकमा आफ्ना कुरा राख्नेछन्। छलफलको राजेश थापाले सहजीकरण गर्ने छन्।

त्यसै गरी २५ गते पहिलो सेसनमा नेपाली फिल्ममा महिला सहभागिता’शीर्षकमा करिष्मा मानन्धर, दीपाश्री निरौला, रक्षा सिंह राणाका साथ सम्झना उप्रेती रौनियारले छलफल गर्ने छिन् । त्यसै दिन दार्जिलिङबाट फिल्म लेखक तथा निर्देशक प्रताप सुब्बा जोडिने छन्।

उनले नेपाली सिनेमासँग जोडिएका अनुभव सुनाउने छन्। २६ गते यादव भट्टराईले कोरोनापछिको फिल्म बजार शीर्षकमा रेखा थापा, अशोक शर्मा, अर्जुन कुमार र मनोज अग्रवालसँग बहस गर्ने छन्। फेस्टिभलको अन्तिम दिन पत्रकार तथा  फिल्म निर्देशक दीपेन्द्र लामाले कहाँ छ नेपाली फिल्म शीर्षकमा कृष्ण धराबासी, बबिता बस्नेत, युग पाठक, अनुभव अजित र प्रकाश भट्टराईसँग बहस गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्