बिल्बाओद्वारा सेभिया पराजित



लन्डन, (एजेन्सी) ।

स्पेनिस लालिगामा सेभिया लिगको ३४औं साताको खेलमा आफ्नै घरेलु मैदानमा एथ्लेटिक बिल्बाओसँग १–० गोल अन्तरले पराजित भएको छ ।

हारपछि स्पेनिस लालिगा फुटबलको उपाधि होडमा रहेको सेभिया करिब–करिब बाहिरिएको छ । आफ्नो घरेलु मैदानमा सेभियाले पाहुना टोली बिल्बाओविरुद्ध आक्रामक प्रदर्शन गर्दै खेल भरि नै बलियो पकड जमाए पनि ९० औं मिनेटमा गोल बेहोरेपछि महत्वपूर्ण तीन अंक गुमायो । बिल्बा ओकाइनाकी विलियम्सले गोल गर्दै सेभियाविरुद्ध टिमलाई १–० को जित दिलाए ।

सेभियाले घरेलु मैदानमा ७४ प्रतिशत बल आफ्नो पकडमा राखेर कुल १८ सट प्रहार गर्दा तीन सट मात्रै अन टार्गेट हानेको थियो । यता, बिल्बाओले भने खेल भरिमा जम्मा २६ प्रतिशत बल नियन्त्रणमा राख्दा आठ पटक प्रहार गर्दा मात्रै दुई सट अन टार्गेट हानेको थियो ।

यो हारपछि सेभिया ३४ खेलबाट ७० अंकमै सीमित भएको छ । यो हारपछि सेभियाले शीर्ष तीन टोलीसँग अंक दुरी घटाउने मौका समेत गुमायो । जितेको भए सेभियाले तेस्रो स्थानको बार्सिलोना र दोस्रो स्थानको रियल मेड्रिडसँगको दुरी एक अंकमा झार्ने थियो । यता, विजयी बिल्बाओले भने ३४ खेलबाट ४५ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्