कोरोनाबाट बच्न हात धुनुस्



कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपायमा नियमित साबुन–पानीले हात धुनु, तातो पानी सेवन गर्नु, हात मिलाउन छोड्नु, बाहिर जाँदा माक्स प्रयोग गर्नु प्रमुख मानिन्छ । यसो गर्नाले अन्य रोगबाट पनि बच्न सकिन्छ ।

कोरोना भाइरस संक्रमितको सिँगान तथा खकारका साथै सूक्ष्म थोपाहरू आँखा, नाक वा घाँटीको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्दछ । धेरैजसो अवस्थामा यस्तो संक्रमण हाम्रो हातमार्फत हुने गर्छ । एक व्यक्तिबाट अर्कोमा भाइरस सर्ने प्रमुख माध्यम नै हात हो । विश्वव्यापी महामारीको समयमा भाइरसको संक्रमण फैलिनबाट रोक्न नियमितरुपमा साबुन–पानीले हात धुनु सबैभन्दा सस्तो, सजिलो र महत्वपूर्ण उपाय हो । ८० प्रतिशत बिरामी सरसफाइको कमीका कारण हुने भएकाले यति बेला हरेकले सरसफाइमा ध्यान दिँनु जरुरी छ । बढीजसो दीर्घरोगीका बिरामीलाई असर हुने भएकाले निषेधाज्ञाको पालना गरी एकान्तबास बस्न पनि आवश्यक छ ।

हात धुन तातो वा चिसो, जस्तो तापक्रमको पानी पनि प्रयोग गर्न सकिन्छ । जबसम्म तपाईं साबुनको प्रयोग गर्नुहुन्छ, जीवाणु तथा भाइरसलाई प्रभावकारी तवरले मार्नका लागि तातो वा चिसो कुनै पनि तापक्रमको पानी प्रयोग गर्न सकिन्छ । जीवाणुहरू सुख्खा छालाभन्दा भिजेको छालामार्फत सजिलोसँग सर्ने हुनाले हातलाई पूर्णरूपले सुकाउनु अत्यन्तै जरूरी छ । कागजी रुमाल वा सफा कपडाले पुछ्नु नै जीवाणु एक सतहबाट अन्यमा फैलिनबाट रोक्ने प्रभावकारी उपाय हो ।

सही तरिका अपनाउने हो भने कीटाणु तथा रोगकारक जीवाणु नष्ट गर्न हात धुनु र स्यानिटाइजर लगाउनु दुवै उत्तिकै प्रभावकारी मानिन्छ । घरबाट बाहिर रहेका बेलामा स्यानिटाइजर एक सजिलो विकल्प हुन सक्छ तर आपतकालीन अवस्थामा यो महँगो हुनुका साथै सजिलै नपाइन पनि सक्छ । अल्कोहलमा आधारित स्यानिटाइजरले कोरोना भाइरसलाई नष्ट गर्ने भए तापनि यसले सबै प्रकारका जीवाणु तथा कीटाणु भने मार्दैन । उदाहरणको लागि यसलाई नोरोभाइरस र रोटाभाइरसजस्ता भाइरसविरुद्ध एकदमै निष्प्रभावकारी मानिएको छ ।

यदि साबुन–पानी उपलब्ध छैन भने विकल्पका रुपमा क्लोरिनयुक्त पानी वा कम्तीमा ६० प्रतिशत अल्कोहल भएको स्यानिटाइजरले हात सफा गर्नु एक राम्रो विकल्प हो । यी विकल्प उपलब्ध नभएमा साबुन–पानीको झोल वा खरानीको प्रयोगले पनि जीवाणु मार्न सघाउँछ । तथापि यो त्यति प्रभावकारी हुँदैन । त्यसैले यी विकल्पहरूको प्रयोग गरिएको भए तापनि तपाईं हात धुने स्थानमा पुग्नेबिकत्तिकै साबुन–पानीले राम्ररी हात धुनुहोस् र त्यसबीच अन्य संक्रमणको सम्भावना भएका सतहहरूमा नछुनुहोस् ।

– रमिला केसी, काठमाडौं ।

शारीरिक व्यायामको महत्व

शरीरलाई तन्दुरुस्त, स्वस्थ, फूर्तिलो तथा बलियो पार्न गरिने विभिन्न प्रकारका शारीरिक क्रियाकलापहरूलाई शारीरिक व्यायाम भनिन्छ । व्यायाम नियमितरूपमा गर्नाले विभिन्न खाले रोगहरूबाट टाढा रहन सकिन्छ्र । शारीरिक व्यायाम धेरै मात्रामा पनि गर्नुहुँदैन ।

व्यायामले शरीरमा रोगप्रतिरोधक क्षमता राम्रो बनाउँछ । कम्युनिकेबल र नन कम्युनिकेबल डिजिज दुवैमा रोगसँग लड्ने क्षमता बढ्ने भएकाले फिजिकल एक्टिभिटीलाई प्राथमिकतामा राख्नुपर्छ । मसल्स सुकेर जाने, मसल्सको असन्तुलन, मसल्स टाइट भएर अप्ठ्यारोका लागि फिजिकल व्यायामले सुधार गर्छ । बन्दाबन्दीका कारण धेरै व्यवसाय, अफिसले वर्क फ्रम होमको वातावरणमा काम गरिरहेका छन् । घरबाट काम गर्दा पनि आफ्नो शारीरिक स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ ।

अफिसमा काम गर्दा ढाड सीधा राखेर कुर्सीमा बसी गरिन्छ । ८ घन्टा काम गर्दा पनि त्यति गाह्रो हुँदैन । घरमा बसेर काम गर्दा कहिले बेडमा, सोफामा बसेर ल्यापटपमा काम गरिन्छ । लगातार काम गर्दा खराब आसनले गर्दा धेरैमा ढाड तथा गर्दन दुख्ने समस्या पनि देखा परेका छन् । यसले गर्दा पछि गएर हड्डी खिइने, नशा च्यापिने समस्या उत्पन्न हुनसक्छ ।

त्यसैले काम गर्दा आसनमा ध्यान दिनुपर्छ । सुतेर बस्नुभन्दा बसेको राम्रो, बस्नुभन्दा उभिएको राम्रो र उभिनेभन्दा एक–दुई कदम हिँडेको राम्रो भनिन्छ । काम गर्दा पनि स्थान परिवर्तन गरिरहनुपर्छ । हरेक काम गरेको १५ देखि २० मिनेटसम्म ब्रेक लिई यताउता १–२ स्टेप हिँड्ने र शरीर १५ सेकेन्ड तन्काउनुपर्छ । वर्क फ्रम होममा धेरैको छातीको मसल्स टाइट हुने गर्छ । यसका लागि घरमै व्यायाम गर्न सकिन्छ । ढोकामा जाने, दुवै हात साइडमा राखेर छाती तन्काएमा स्ट्रेचिङ हुन्छ । भ¥याङ तल–माथि गरेमा पनि खुट्टा बलियो हुन्छ । त्यो पनि नसकेमा स्क्वाटिङ गर्दा पनि घुँडा तथा खुट्टा बलियो हुन्छ । बसेको धेरै समय भएमा खुट्टा चलाउनुपर्छ । खुट्टाको स्ट्रेचिङ भएमा जोइन्ट मुभ हुन पाउँछ र ढाड दुख्ने समस्या पनि कम हुन्छ ।

हाम्रो जीवनको महत्वपूर्ण अमृत नै हामीसँग छ, त्यो हो मन । यो मनलाई जस्तो बनायो जीवन त्यस्तै हुन्छ । सकारात्मक मोडमा ल्याए हामी खुशी हुन्छौँ भने नकारात्मकतिर लागे हामी दुःखी हुन्छौँ । त्यसैले जीवनको महत्व बुझौँ । जीवनको महत्व र सारतत्वलाई बुझी जीवन अगडि बढाउने प्रयास गरौँ । जीवनलाई योग, प्राणायाम र ध्यानमा केन्द्रित गरौँ, जसले भोलिका दिनहरु सहज बनून् ।

सफल जीवन जिउनको लागि शरीरको सकारात्मक ऊर्जा एवं मानसिक शक्तिको लागि हामीले नियमित व्यायाम गर्नु जरुरी छ । डब्लुएचओका अनुसार १८ देखि ६४ वर्ष उमेरकाले प्रत्येक हप्ता १ सय ५० मिनेट मोडरेट इन्टेन्सिटी एरोबिक्स एक्सरसाइज गर्ने र ७५ मिनेट भिगर इन्टेन्सिटी एक्सरसाइज गरेमा राम्रो हुन्छ । यसलाई कम्बाइन गरेर गर्दा पनि राम्रो हुन्छ । हरेकपटक एक्सरसाइज गर्दा १० मिनेट बढाएर गरेमा राम्रो हुन्छ । मसल्स बलियो बनाउने एक्सरसाइज गर्नु उपयुक्त हुन्छ । वेट अलिकति राखेर र योग पनि गर्नु बेस हुन्छ ।

व्यायाममा श्वास–प्रश्वासको उचित अभ्यासले शरीरलाई फूर्तिलो र जाँगरिलो बनाउँछ भने मानसिकरुपमा स्वस्थ र आत्मविश्वासयुक्त बनाउँछ । त्यस्तै गरी उच्च रक्तचाप हुनबाट जोगाउँछ र नियन्त्रण गर्दछ । मानिसको मनोबल बढाउँछ, स्मरण शक्ति बढाउँछ । मन र मस्तिष्क शान्त बनाउँछ । तनाव कम हुनुका साथै माइग्रेन, अनिद्रा, मांसपेशीमा राहत मिल्छ । ‘सेरोटोननी’ हर्मोनको अधिक उत्पादन गर्दछ, ऊर्जा स्तरमा वृद्धि ल्याउँछ । ध्यानको कुनै धर्म हुँदैन, सबै विचारधारा मान्नेहरुले यसको अभ्यास गर्न सकिन्छ । विकराल देखिने शारीरिक रोग एवं मानसिक समस्याको निरोध व्यायामको नियमित अभ्यासबाटै हुन सक्ने वैज्ञानिकरुपमै स्थापित भैसकेको छ । त्यसैलै व्यायाम गर्नु स्वस्थ जीवनका लागि अपरिहार्य छ ।

– सुफल न्यौपाने, कास्की ।

प्रतिक्रिया दिनुहोस्