नैतिकतामा खडेरी



कोरोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि जनतामा थप त्रास र अनिश्चितता फैलन थालेको छ । तीव्ररूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणले दीर्घरोगी मात्र होइन युवा र बालबालिका समेतलाई नराम्रोसँग प्रभावित बनाएको छ । नेपालमा कोरोना संक्रमणका कारण भएको पछिल्लो मृतकको आँकडा हेर्दा ४० वर्षभन्दा कम उमेरका व्यक्ति बढी छन् । तर, नयाँ प्रजातिको कोरोनासँग कसरी लड्ने भन्ने विषयमा सरकारले निकै ढिला गरी त्यही पनि निकै अल्प प्रयास गरेको देखिएको छ ।

छिमेकी मुलुक भारतको भन्दा पनि नेपालमा भयावह अवस्था सिर्जना हुने विज्ञहरूले चेतावनी दिइसकेका छन् । तर, सरकारले मुलुकभर कोरोना संक्रमितको उपचारमा जसरी तदारुकता देखाउनुपर्ने थियो त्यो गर्न सकेको देखिँदैन । कोरोना संक्रमण नियन्त्रणमा सरकार लाचार भइरहेका बेला मुलुकमा अस्तित्वमा रहेका राजनीतिक दलका नेताहरूको ताल हेर्दा लाग्छ, उनीहरूलाई जनताको स्वास्थ्यभन्दा पनि सत्ताको तालमेल कसरी मिलाउने भन्ने ध्याउन्न छ । उनीहरूको यही व्यवहारका कारण नैतिक प्रश्न खडा भएको छ । सरकार त बरालियो नै सरकारइतरका दलहरू पनि अहिले प्रदेश सरकार कसरी गिराउने, आफूले सत्ता कसरी हत्याउने भन्ने दाउमा लागेका छन् । नेताहरूमा नैतिकता हराउँदै गएको प्रतीत भइरहेको छ । सत्ताबिना टिक्न नसक्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अहिलेको अवस्था हेर्दा उनीहरू जनताको स्वास्थ्यभन्दा पनि सत्तालाई पहिलो प्राथमिकतामा राखिरहेका छन् जो लाजमर्दो विषय बन्न पुगेको छ । जनता रहे मात्र राजनीति रहन्छ भन्ने यथार्थलाई उनीहरूले भुलेको देखिन्छ । राज्य रूपान्तरणको नारा दिएर जंगल युद्ध गरेर फर्किएको नेकपा माओवादी केन्द्रका नेताहरूमा पनि सत्ता लिप्सा घाँटीघाँटी आएको देखिन्छ । अहिलेको अवस्था भनेको सबै दल मिलेर कोरोना संक्रमणलाई नियन्त्रण गर्न लाग्नुपर्ने थियो । लाचारी देखाइरहेको सरकारलाई दबाब दिएर हरसम्भव उपायहरू अवलम्बन गर्न बाध्य बनाउनुपर्ने थियो । तर, दलहरू सत्ताको फोहोरी खेलमा लिप्त हुनुले पनि उनीहरूको नैतिकतामाथि हरेक नागरिकले आंैला ठड्याउने बेला आइसकेको छ । आज भारतसँग सीमा जोडिएका नाकाका जिल्लाहरूमा कोरोना संक्रमितहरू उपचार नपाएर भकाभक मर्न थालेका छन् । सरकारले पर्याप्त मात्रामा चिकित्साकर्मी उपलब्ध नगराउँदा संक्रमित चिकित्सक उपचारमा संलग्न हुनुपरेको तितो यर्थाथ छ, तर दलहरूलाई त्यो अवस्थाले छुन सकेको देखिन्न ।

नैतिकता हराउँदै गएका नेता र लाचार सरकारको चेपुवामा अहिले जनता परेका छन् । राज्य भनेको जनताको अभिभावक हुनुपर्ने थियो, तर मुलुक राज्यविहीन हुँदै गएको अनुभव जनताले गर्न थालेका छन् । सत्ता–स्वार्थको खेलबाट माथि उठेर सबै राजनीतिक दलले कोरोना संक्रमणलाई पराजित गर्नेतर्फ लाग्नुपर्ने अहिलेको ट्डकारो आवश्यकता हो । समय अझै बाँकि छ, सरकार र दलका नेताहरूमा सत्ता स्वार्थलाई छोडेर कोरोना संक्रमणलाई पराजित गर्नतिर लाग्ने सद्बुद्धि पलाउनु आवश्यक छ । पछिल्लो समय दल र नेताहरूप्रति जनताको विश्वास जसरी स्खलित हुँदै गएको छ, यो क्रम निरन्तर रह्यो भने संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै आघात पर्नेछ । पाइलटको कमजोरीका कारण विमान कम्पनीहरू धराशायी भएका उदाहरण संसारमा धेरै छन् ।

प्रतिक्रिया दिनुहोस्