बेनी नगरपालिकामा १० दिन निषेधाज्ञा



प्रताप बानियाँ, म्याग्दी ।

विश्वभर महामारीका रुपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दैनिक जसो बढेपछि म्याग्दीको बेनी नगरपालिकामा १० दिन निषेधाज्ञा लगाइने भएको छ । मङ्गलबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को वैठकले नगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

डिसिसिएमसीको बैठकले नगरपालिकाभित्र बुधबार राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । यसअघि सोमबार बेनी नगरपालिकाको आयोजनामा सम्पन्न सरोकारवासहितको सर्वपक्षीय वैठकले नगर क्षेत्रमा १० दिन निषेधाज्ञा लगाउन डिसिसिएमसीमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाको सर्वपक्षीय वैठकको सिफारिसको आधारमा डिसिसिएमसीको वैठकले नगरपालिकामा १० दिन निषेधाज्ञा लगाउने निर्णय गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बताउनुभयो ।

उहाँका अनुसार निषेधाज्ञाको अवधिमा अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द हुनेछन् । निषेधाज्ञामा सार्वजनिक वा निजी यात्रु तथा मालवाहक साधन मोटरसाईकल समेत सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको जनाइएको छ । अस्पताल, औषधालय, स्वास्थ्य सामग्रीका पसलहरु भने २४सै घण्टा खुल्ला रहने छन् ।

यसैगरी बैठकले तरकारी, फलफुल, दुध, डेरीजन्य उत्पादन, ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालन गरी बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन हुने निर्णय गरेको छ । सार्वजनिक ठाउँमा जमघट र भेला हुने धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरु समेत सञ्चालन गर्न निषेध गरिएको छ ।

म्याग्दीमा पर्ने उत्तर–दक्षिण जोड्ने राष्ट्रिय राजमार्गको बाटो भएर एक जिल्लाबाट अर्को जिल्लामा आउने जाने सवारी साधनलाई निषेधाज्ञा लगाइएको क्षेत्रमा यात्रु नझार्ने र नचढाउने शर्तमा चल्न दिइनेछ । बेनी नगरपालिकाको सबै वडाले निर्णयको कार्यान्वयन गर्न, गराउन स्वयंसेवकको रुपमा परिचालन हुनुपर्ने निर्णय समेत गरिएको छ । हाल म्याग्दीमा ७३ जना सक्रिय कोरोना संक्रमितहरु रहेकोमा बेनी नगरपालिकामा मात्रै ४५ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्