महामारीको चपेटामा खाद्यान्नको मूल्य वृद्धि



डा.माधव अधिकारी । 

मानवजीवनको लागि खाद्यपदार्थ अपरिहार्य विषय हो । खाद्यपदार्थको उचित प्रयोगले नै जीवित प्राणीलाई गुणस्तरीय जीवन बिताउन सहयोग पुर्‍याउँछ । स्वस्थ मस्तिष्कद्वारा नै स्वास्थ्य एवं स्फूर्त विचारको प्रस्फुटन हुन्छ । यसको विपरीत कुनै पनि व्यक्तिको स्वास्थ्य ठीक छैन भने उसको कुनै पनि विषयमा गहनरुपमा आफ्नो सोच–विचार पुर्‍याउन नसकी विकासात्मक कार्यहरुमा बाधा–व्यवधान उत्पन्न हुन पुग्छ । प्रश्न उठ्छ, गुणस्तरीय जीवनका लागि कुन तहले कसरी प्रभाव पारिरहेको हुन्छ ? यसलाई गहिरिएर बुझ्ने हो भने गुणस्तरीय जीवनका लागि सम्बन्धित ठाउँमा उपलब्ध भइरहेको स्वस्थ वातावरणयुक्त खाद्यपदार्थ व्यवस्थापनले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा प्रभाव पारिरहेको हुन्छ । मानव तथा जीवित प्राणीलाई अपरिहार्य वस्तु खाद्यपदार्थ हो, जसको अभावमा जीवन कल्पनासमेत गर्न सम्भव छैन । तसर्थ यस्तो अपरिहार्य वस्तुको सरल प्राप्ति तथा उचित प्रयोगबाट नै गुणस्तरीय जीवन जिउन सम्भव छ ।

मानिसलाई स्वस्थ्य राख्ने प्रमुख आधार नै खाद्यपदार्थ हो । शारीरिक स्वस्थताका लागि तागत वा शक्ति दिने खाद्यपदार्थको त्यत्तिकै महत्व हुन्छ । खाद्यपदार्थमा उसिनेको, हकुवा, ताइचिन र मन्सुरी चामललाई स्वस्थ खानाको रुपमा लिइन्छ । त्यस्तै गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, सखरखण्ड, तरुल, पिँडालु, गिठ्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ भोजनको रुपमा लिन सकिन्छ । शरीरको तामक्रम सन्तुलन बनाइराख्न, मांसपेशी बलियो बनाउन, शरीरको मुख्य अंगहरु (मृगौला, मुटु, फोक्सो, मस्तिष्क) लाई निरोगी राख्न एवं विभिन्न समस्याहरु निराकरण गर्न यी शाकाहारी खाना नै हुन् ।

स्वास्थ्य समस्याहरु निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्न उपयोगी हुन्छ । यसले शरीरको विकास सन्तुलनको लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर भिटामिन ‘बी’ प्राप्त हुनछ । साथै यस्तो अन्नले रगत राम्रो बनाउने, शरीरबाट काम नलाग्ने वस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्ने गर्दछ । तरकारीको रुपमा प्रयोग गरिने आलुबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ । यसले घाउ निको पार्न र बलियो बनाउन सहयोग पुर्‍याउँछ । खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति दिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ, जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मद्दत गर्दछ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु¥याएको कुरा विभिन्न अध्ययनले जनाएको छ ।

यसै गरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ । यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खानाको कमी भएमा दुब्लाउँछ, सो कारणबाट मांसपेशी कमजोर हुन गई जाँगरसमेत निम्न हुन्छ । थकाइ छिटो लाग्छ, जाडो भएको महसुस भई जीउ काँप्छ । शरीरको विकास र यसलाई सन्तुलित राख्न शाकाहारी खाना मुख्य हो । यो गेडागुडी र अन्य वस्तुबाट प्राप्त गर्न सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ । अतः शरीरको विकास र दीर्घ जीवनका लागि माथि उल्लिखित प्रोटिनयुक्त शाकाहारी खाना खानुपर्दछ ।

प्रोटिन कपाल, हाड, मांसपेशी र रगतलाई स्वस्थ राख्ने आवश्यक तत्व हो । यसले शरीरको मुटु, मृगौला र कलेजो–कोषहरुलाई करिब दुई हप्तासम्म जीवित राख्न सहयोग गर्दछ । छाला, हाड र मांसपेशीका कोषहरु ६–७ महिनासम्म जीवित राख्दछ । प्रोटिनले घाउ छिटो निको गर्न मद्दत पुर्‍याउँछ । केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तत्व क्याल्सियम पनि प्रदान गर्दछ । प्रोटिन र भिटामिन खाएनौं भने खानामा भएको तत्वहरु सबै शरीरले पचाउन सक्दैन र त्यस्ता तत्वहरु दिसामा बगेर खेर जान्छन् । अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ । खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अति महत्वपूर्ण हुन्छ । प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुराहरुसित खायौं भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तत्व पचाउन सक्दछ । त्यसैले विभिन्न किसिमका खानेकुराहरु मिलाएर खानु फाइदाजनक हुन्छ ।

यही परिवेशमा कोरोनाको दोस्रो लहरसँगसँगै संक्रमणको संख्या दिनहुँ बढिरहेको छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकालगायत देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । यसै सिलसिलामा अत्यावश्यक खाद्यवस्तुको भाउ उकालो लागेको छ । उदाहरणको रुपमा केही दिनयता प्रतिलिटर सनफ्लावर तेलको एमआरपी मूल्य रु. २६० पुगेको छ । कोरोना दोस्रो लहरभन्दा अगाडि यसको मूल्य रु. २४० थियो । त्यस्तै भटमासको तेल रु. २३० बाट रु. २४५, चिनीको प्रतिकेजी रु. ८३ बाट रु. ९० भन्दा बढी, चनाको रु. ९० बाट रु. ११०, मुसुरो दालको रु. १०७ बाट रु. १२२, मासको दाल रु. १५० बाट रु. १६०, रहर रु. १५० बाट रु. १६० पुगेको छ ।

बहुसंख्यक मध्यमवर्गीय व्यक्तिले प्रयोग गर्ने चामल एक बोरामा घटीमा १०० रुपियाँले बढेको छ । त्यस्तै हरियो तरकारी तथा फलफूलको भाउ पनि खुद्रामा आकाशिएको छ । यो त प्रतिनिधि उदाहरण मात्र हो । समग्रमा अधिकांश उपभोग्य सामानको मूल्य वृद्धि भएको छ । जनता मूल्य वृद्धिको मारमा परी दैनिक आर्थिक अभावमा हातमुख जोड्न धौ–धौ परेका छन् । मानवजीवनको लागि खाद्यपदार्थ अपरिहार्य विषय हो । खाद्य पदार्थको उचित सेवनबाट नै शरीर जीवित राख्न सहयोग पु¥याउँछ । मानव तथा जीवित प्राणीलाई अपरिहार्य वस्तु हो खाद्यपदार्थ । जसको अभावमा जीवन जिउन सम्भव छैन ।

कोभिड–१९ महामारीको चपेटामा परेको यस बखतमा खाद्यान्नमा भएको मूल्य वृद्धिले झनै उठ्नै नसक्ने गरी थला पारेको छ । यसरी खाद्यपदार्थजस्तो अति आवश्यक वस्तुमा मूल्य वृद्धि हुँदा कोरोना महामारीले भन्दा भोकले मानिस मर्ने अवस्था आइसकेको छ । यस्तो संकटको बेलामा सरकार भने आफ्नो सत्ता टिकाउने खेल मात्रै गरिरहेको छ । सरकार जस्तोसुकै कार्य गर्न पनि पछि परेको छैन सत्ता टिकाउनका लागि । यसको नियन्त्रण गर्ने निकाय कहाँ छ, उपभोक्तालाई थाहा छैन । सबैले सोच्ने बेला आएको छ । कोभिड–१९ महामारीले नेपाली जनताको स्थिति नाजुक भएको बेला सम्बन्धित निकायले कालो बजारी रोक्न नसक्नु दुर्भाग्य हो । सरकारी निकायको नैतिकतामै प्रश्न उठ्नु स्वाभाविक हो ।

नेपालमा संकटको बेलामा खाद्यपदार्थको मूल्य वृद्धि तथा कालो बजारीकोको समस्या हुनुको कारण पत्ता लगाई सोको अविलम्ब निराकरण गर्नुपर्दछ । सम्बन्धित पक्षले खाद्यपदार्थ सहजरुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्दछ । खाद्य व्यवस्थापन तथा वितरणमा सुधारको आवश्यकता अपरिहार्य छ । खाद्यपदार्थ र गुणस्तरीय जीवनबीचको अन्तरसम्बन्धका बारेमा विभिन्न समयमा धेरै अध्ययन–अनुसन्धान भएका छन् । सम्पूर्ण अध्ययनको निचोडको रुपमा खाद्यपदार्थ नै जीवनको आधारशिला हो भनिएको छ । गुणस्तरीय जीवन बिताउन खाद्यपदार्थकै कारणले मात्र सम्भव भएको अनुसन्धानमा उल्लेख भएको पाइन्छ ।

आज पृथ्वीमा जीवित सम्पूर्ण प्राणीले खाद्यपदार्थलाई अमृतको रुपमा स्वीकार गरिसकेका छन् । खाद्यपदार्थ नै जीवन हो । किनभने जीवित प्राणीको लागि खाद्यपदार्थको आवश्यकता हुन्छ । खाद्यपदार्थ व्यवस्थापनम तथा वितरणमा अविलम्ब पुनर्संरचना गरिनु आवश्यक देखिन्छ । नयाँ बन्ने संरचनामा हाम्रो मान्छे होइन, गुणस्तरीय मान्छे राख्नुपर्दछ । यसका लागि राजनीतिक भागवण्डा होइन, वास्तविक नेपाली जनताको हित गर्ने शैक्षिक गुणस्तरीय जनशक्तिको छनोट हुनु अनिवार्य हुन्छ । यस्ता निकायलाई स्वतन्त्र, पारदर्शी र राजनीतिक हस्तक्षेपबाट मुक्त राखिने प्रतिबद्धता हुनुपर्छ । भ्रष्टाचारमुक्त, जनताको निगरानीमा रहने प्रकृतिको बनाइनुपर्दछ । यो संस्थालाई नेपाली जनताको हितमा प्रयोग हुने अनुभूति दिलाउन सक्ने गुणात्मक सुधार, दिगो विकास गर्नुपर्दछ । नातावाद, कृपावाद, भ्रष्टाचार पूर्णरुपमा निर्मूल गरिनुपर्छ ।

कृषिप्रधान देश भनेर उपाधि पाएको नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन पहिलो कुरा त उत्पादन बढाउनु अपरिहार्य छ । जति उत्पादन बढाउन सक्यो त्यति खाद्यान्न सहज किसिमले प्राप्त गर्न सकिन्छ अनि मूल्य वृद्धि रोक्न मद्दत पुग्छ । आधुनिक कृषि प्रणाली अवलम्बन गर्न किसानलाई प्रोत्साहित गर्ने काम सरकारको हो । यसमा सरकारले ध्यान पुर्‍याउन सक्यो र उत्पादित खाद्यवस्तुको बिक्री वितरणको जिम्मा सरकारले नै लिइदियो भने स्वतः मूल्य वृद्धि रोकिन्छ । अनि मात्र नागरिकले राहत पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्