पर्सामा निषेधाज्ञाको समय थपियो



कृष्णउदास खनाल, वीरगन्ज ।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र पर्साले गत बिहीबार बिहानबाट जारी रहेको निषेधाज्ञाको समय थप गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड संकट ब्वस्थापन केन्द्रको बैठकले जिल्लामा हाल जारी रहेको निषेधाज्ञाले कोभिडको चेक ब्रेक गर्नका लागि उपयोगी देखिएकाले यही बैशाख ३० गतेसम्म लम्बाउनका लागि सिफारिस गरेको हो । त्यसरी नै जिल्लामा रहेका सबै अक्सिजन उधोगहरुलाई पूर्ण क्षमतामा संचालन गर्नका लागि पनि अनुरोध गरेको छ । अक्सिजन अन्यन्त्र क्षेत्रमा आपूर्ति नगर्ने समेत निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।

त्यसरी नै कोभिड संक्रमित बिरामीको उपचारका लागि वीरगन्ज महानगरपालिकाले १०० शैयाको अस्थायी कोभिड अस्पताल तत्काल संचालनमा ल्याउने र १०० शैयाको आइसोलेशन संचालन गर्ने निर्णय गरेको छ ।

बैठकले वीरगन्ज महानगरपालिकाले उपयुक्र स्थानमा स्वाब संकलन केन्द्र बनाइ सोही स्थानमा स्वाब संकलन गरी परिक्षणका लागि नारायणी अस्पतालमा पठाउने निर्णय गरेको छ । नारायणी अस्पतालमा करारमा कार्यरत डा. राजिव यादव र नन्दनकुमार सिंहको करार अवधि बढीमा ४ महिना थप गर्ने निर्णय गरेको पनि सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । हाल जारी निषेधाज्ञालाई बुधबार सूचना जारी गरी प्रमुख जिल्ला अधिकारीले मंगलबारकै बैठकको सिफारसिमा आधारमा लम्बाउने पनि पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्