स्पिडबोट दुर्घटनामा २६ को मृत्यु



ढाका, (एजेन्सी) ।

बंगलादेशमा सोमबार बालुवा ओसार्दै गरेको एउटा सानो पानी जहाज यात्रुले टन्न भरिएको अर्को स्पिडबोटसँग ठोक्किँदा कम्तिमा २६ जना व्यक्तिको ज्यान गएको छ । प्रहरीका अनुसार मावा शहरबाट आइरहेको करिब तीन दर्जन यात्रु बोकेको स्पिडबोट मध्य ग्रामीण शहर सिब्चारस्थित मुख्य नदीको बन्दरगाहमा बढ्ने क्रममा पद्मा नदीमा अर्को जहाजसँग ठोकिन पुगेको हो ।

स्थानीय प्रहरी अधिकारी आमिर होस्सनेले सञ्चार माध्यमलाई भनेका छन् – ‘अहिलेसम्म हामीले एका महिलासहित २६ वटा लास फेला पारिसकेको छौं । साथै, हामीले तीनजना बालबालिकालगायत पाँचजनाको सकुशल उद्धार गरेको छौं । नराम्ररी क्षतिग्रस्त हुन पुगेको स्पिडबोट दुई टुक्रा भएर हेर्दाहेर्दै एकैछिनमा नदीमा डुबेको थियो । प्रहरी, अग्नि नियन्त्रणक र सेनाको टोली खोजी तथा उद्धार कार्यमा परिचालित गरिएका छन् ।’

एकजना प्रत्यक्षदर्शीले दुईवटै सवारी साधन आपसमा ठोकिँदा ठूलो विस्फोटको जस्तो आवाज सुनिएको बताएका छन् । स्पिडबोट बाँधेर राखिएको जहाजमा ठोकिएका कारण स्पिडबोटका ड्राइभरमाथि अनुसन्धान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्