राष्ट्रपतिद्वारा सात अध्यादेश जारी



काठमाडौं, (नेस) ।

सरकारको सिफारिसमा यही वैशाख २७ गते प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पुनः सरकारको सिफारिसमा सातवटा अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लगायत सात अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अन्य अध्यादेशमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ छन् ।

संसद्को गत अधिवेशनमा पेस भएका ती अध्यादेश कार्यसूचीमा परे पनि छलफल हुन नसकेपछि सरकारले पुनः ल्याएको हो । अध्यादेश जारी भएको मितिले छ महिनाभित्र संसद्बाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्