बाल यौन-अश्लिल वेबसाइट सञ्चालक पक्राउ



लन्डन, (एजेन्सी) ।

जर्मन प्रहरीले विश्वकै सबैभन्दा ठूलो बाल यौन–अश्लिल तस्वीर तथा भिडियो राख्ने गरेको वेबसाइटका आशंकित चार जना सदस्यलाई पक्राउ गरेको छ । विश्वभरि सो वेबसाइटका चार लाखभन्दा बढि सदस्य रहेको प्रहरी तथा वकिलहरूले बताएका छन् ।

जर्मनीको संघीय प्रहरी निकाय बिकेएका अनुसार प्रहरीको यस विशेष अभियानअन्तर्गत क्षेत्रीय तथा संघीय अधिकारीहरूले जर्मनीका सात स्थानमा छापा मारेर बालबालिकाको यौनजन्य तस्वीर तथा भिडियोहरू वितरण गर्ने प्लेटफर्मका रूपमा कुख्यात ब्वाइजटाउन वेबसाइट सञ्चालन गरेको अभियोगमा तीनजना पुरुषलाई गिरफतार गरेका हुन् । यसै अभियानअन्तर्गत प्रहरीले पाराग्वेमा अर्को एकजना पुरुषलाई पक्राउ गरेको छ ।

ती व्यक्तिलाई चाँडै नै फ्रान्कफर्टमा सुपुर्दगी गर्ने तयारी भइरहेको छ । बिकेएले एक विज्ञप्ति जारी गर्दै त्यो अवैध वेबसाइट अहिले बन्द भइसकेको र अज्ञात संख्यामा रहेको यस्ता च्याट साइटसमेत निष्क्रिय पारिएको जानकारी दिएको छ ।

तिनीहरू अप्रिलको मध्यतिरै पक्राउमा परेको भए पनि खबर सोमबार मात्रै सार्वजनिक गरिएको हो । जर्मनको कानुनअनुसार नाम गोप्यै राखिएका ती पक्राउमा पर्नेहरू ४० देखि ६४ वर्ष उमेरका रहेको बताइएको छ । ह्यामवर्ग निवासी ६४ वर्षीय अभियुक्तले मात्र वेबसाइटमा बालबालिकाका ३ हजार ५ सय वटाभन्दा बढि अश्लिल तस्वीर अपलोड गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्