मास्क, मास्क र मास्क !



कोरोना संक्रमणका कारण दिनदिनै मृत्युका खबर सुन्न बाध्य हुनुपरेको छ । नेता, उद्यमी, व्यवसायी, समाजसेवी र सर्वसाधारण कसैलाई पनि छोडेको छैन कोरोनाले । मृत्यु हुनेहरुमा अधिकांश ४० वर्षभन्दा कम उमेरका व्यक्ति रहेको तथ्यांकले सबैलाई थप गम्भीर बनाएको छ । युवाहरुले यस मुलुकका लागि दिन सक्ने योगदानलाई कोरोना महामारीले मारिदिएको छ । देशैभर नदीकिनारमा शव जलिरहेका छन्, पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहले थेग्न नसकेपछि वाग्मतीको किनारमा संक्रमितका लाशहरु लहरै जलाउन थालिएको छ ।

मुलुकको अवस्था यति जटिल बन्दा पनि सञ्चारमाध्यमहरुमा मुख्य समाचार सत्ताकै बनिरहेको छ । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउनुअघि प्रधानमन्त्रीले नै विश्वासको मत लिने, मुख्यमन्त्रीले राजीनामा दिएकै दिन पुनः शपथग्रहण लिए, सांसदहरुले फ्लोरक्रस गर्ने सम्भावना, गुण्डानायिके बने मन्त्री, विरोधीलाई मन्त्री बनाएर मुख्यमन्त्रीले जोगाए कुर्सी आदि सत्ताका शीर्षकले कोरोनाका समाचारलाई किनारा लगाएका छन् ।

कोरोनालाई सत्ताले कत्ति पनि महत्व दिएन । २०७६ सालको अन्त्यतिर प्रकट भएको कोरोना उमेरका हिसाबले दुई वर्षको भयो । यसै कालखण्डमा दुईतिहाइ निकटको नेकपाको सत्ता पतन भएर संघीय प्रतिनिधिसभामा विश्वासको मत छ कि छैन भनेर परीक्षण गर्नुपर्ने अवस्थामा ओर्लियो । छिमेकी भारत र चीनसँग समदूरीको सम्बन्ध बनाउँदै आएको सत्ता यही कालखण्डमा एकातिर लात हान्दै अर्कातिर लपक्क टाँसिन पुग्यो । राजनीतिक इमान्दारी र आम नागरिकप्रतिको जिम्मेवारी देखाउन र कोरोना महामारीविरुद्ध समानुभूतिको भाव देखाउन सत्ता नराम्ररी चुक्यो । कुनै बेला ‘सर्वहारा’का लागि राजनीति गर्ने सम्यक विचार आज ‘भाइमारा’मा परिणत भयो– कुनै बेला एकै दलका नेकपाका नेताहरु केपी ओली, माधव नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल आदि एक–आपसलाई समाप्त पार्नमै केन्द्रित छन् । विगत केही महिनाअघि यही समाप्तिको खेल उचाइमा पुर्‍याउन गरिएका भेलाहरुकै गर्भबाट कोरोनाको नयाँ भेरियन्टको जन्म भएको आशंका गरिन्छ ।

तर यतिखेर जनतामाथि नेताहरुले जति शासन गरेका छन्, त्योभन्दा कठोर शासन कोरोनाले गरेको छ । सरकार कोरोनाका बिरामीको उपचार गर्ने क्षमता छैन भनेर विज्ञप्ति निकालिरहेको छ भने निजी अस्पताल दिनको ३५ हजार रुपियाँ शुल्क लिएर उपचार गरिरहेका छन् । दैनिक मजदुरीमा जीवन धान्ने परिवारलाई प्रधानमन्त्री ओलीको सोमबारको भाषणले पनि समेटेन, व्यवहारले नसमेटे पनि बोलीको आश्वासन पनि उनीहरुको नसिबमा परेन । यस्तो बेला आम जनताले कोरोनाबाट बच्न आफंै सजग हुनु वा जोगिनुको विकल्प देखिँदैन । सरकारसँग छिमेकी भारतमा जस्तो व्यापक खोप कार्यक्रम ल्याउने स्रोत पनि छैन, न त समानुभूतिपूर्ण व्यवहार देखाउने मानसिक तत्परता नै छ । त्यसैले आत्मचेतनाको बाटो हाम्रा लागि अनिवार्य भएको छ । हामीले शरीरको ताप बढ्यो कि अक्सिजन लेबल घट्यो कि भनेर नापिरहनुपरेको छ, प्यारासिटामल गोजीमा हालेर हिँड्नुपरेको छ, अक्सिजन स्तर बढाउन घोप्टोपरेर सुत्नुपर्छ भनेर सिक्नुपरेको छ, भिटामिन सी र डी अनि जिङ्क चक्की आदि खाएर रोग प्रतिरोधात्मक शक्ति बढाउन सकिन्छ भनेर सचेत हुनु छ । नयाँ भेरियन्टको कोरोनाले एक रातमै अवस्था गम्भीर हुन सक्छ,्र तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु भनेर बस्नुहुन्न, अस्पतालमा शय्या नभए पनि त्यहाँसम्म तत्कालै पुग्नुपर्छ भनेर बुझ्नु छ । अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एवं स्वास्थ्य नष्ट गर्नु छैन, प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन भनेर बुझ्नु छ । मरिच, बेसार, अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठीमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खाएर कोरोना भाइरसलाई कमजोर बनाउनु छ ।

तर, आम नागरिकका लागि थर्मामिटर, अक्सोमिटरदेखि घरमै आइसोलेसन बस्नेसम्मका उपचारात्मक पद्धति पनि सम्भव छैनन्, उनीहरुले केही बल गरेर जुटाउन सक्ने भनेको मास्क नै हो । सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने उपायको अवलम्बन गर्ने सुझाव नै उनीहरुका लागि व्यावहारिक हुनेछ । मास्कको प्रयोगले मात्र ९५ प्रतिशतसम्म संक्रमणबाट जोगाउने निष्कर्ष विज्ञहरुको छ । नेपाल समाचारपत्र सबैमा विनीत अनुरोध गर्दछ– कुनै दोस्रो व्यक्तिको निकट पुग्दा अवश्य मास्कको प्रयोग गरौं । साबुनजानीले बारम्बार हात धोऔं अथवा स्यानिटाइजर प्रयोग गरौं । हामीलाई यस संकटबाट जोगाउने अरू कोही छैन, छ त केबल मास्क, मास्क र मास्क !

प्रतिक्रिया दिनुहोस्