माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने



काठमाडौं, (नेस) ।

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरे पनि औपचारिक रुपमा निर्णय गर्न सक्नुभएको थिएन ।

माओवादी केन्द्रको यसअघि बसेको स्थायी समिति बैठकले प्रचण्डलाई समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मेवारी दिएको थियो । तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि पार्टीले समर्थन फिर्ता लिन सकेको थिएन ।

बैठकले वैशाख २७ गतेका लागि आह्वान गरिएको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल मतदानमा सहभागी बन्न पाउने सांसदको संख्या २ सय ७१ जना छन् । माओवादी केन्द्रका ५३ जना सांसद भए पनि चार जना पार्टी परित्याग गरेकाले माओवादीसँग हाल सभामुखसहित ४९ जना सांसद मात्रै छन् भने एमालेका १ सय २१ सांसद छन् । कांग्रेसका ६३ मध्ये २ जना (विजयकुमार गच्छदार र अफताब आलम) निलम्बित छन् । त्यस्तै, जनता समाजवादीका ३४ मध्ये २ जना (रेशम चौधरी र हरिनारायण रौनियार) निलम्बनमै छन् ।

प्रतिक्रिया दिनुहोस्