नर्भिक बन्यो अब ‘कोभिड अस्पताल’



न्युज अफ नेपाल, काठमाडौं । 

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले कोभिड अस्पतालका रुपमा सेवा दिन थालेको छ ।अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गरिएको हो । आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेर थप परिस्कृत गर्दै लगिएको अस्पताल स्रोतले जनाएको छ । बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको पनि अस्पताल स्रोतले जनाएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरणका लागि गरेको घोषणा स्वागतयोग्य रहेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताए । नर्भिकले कोभिड संक्रमणको दोस्रो लहर सुरु भएसँगै यो अवस्थाको आकलन गरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिसकेको थियो।

उनले भने, ‘सरकारले समेत सोहीअनुसारको घोषणा गरेकोमा हामी खुशी छौं। अब अरुले पनि आफ्नो सेवालाई कोभिड केन्द्रीत गर्नुपर्ने देखिएको छ।’

कार्यकारी निर्देशक सिंहका अनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शय्यामध्ये ९० शय्या कोभिड शय्याको रुपमा रुपान्तरित भइसकेका छन्। ती ९० शय्या कोभिडका बिरामीले भरिएका छन्। नर्भिकमा रहेका ३५ आइसियू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ।

प्रतिक्रिया दिनुहोस्