डा. रिजालको अंग्रेजी कर्मा



डा. कपिल रिजाल । लन्डनको दन्तचिकित्सा क्षेत्रमा लोकप्रियता कमाएको नाम हो यो । पेसाले उनी दन्त चिकित्सक हुन्, तर लन्डनमै बसेर फिल्म निर्देशनको क्षेत्रमा समेत नाम बनाइरहेका छन् । त्यो पनि अंग्रेजी फिल्म। साढे दुई दशकदेखि लन्डनमा बसेर दन्त चिकित्साको क्षेत्रमा लोकप्रियता कमाएका डा. रिजालले चिकित्सा क्षेत्रबाट बचेको समयको सदुपयोग गर्दै छोटा फिल्म तयार पारेर आफ्नो पिताको पथ पछ्याइरहेका छन् ।

ख्याति प्राप्त स्त्री रोग विशेषज्ञ तथा फिल्म निर्माता, गायक एवं गीतकार डा. भोला रिजालका पुत्र डा. कपिल रिजालले निर्देशन गरेको पछिल्लो छोटो फिल्म कर्मा : लाइफ इज ए बुमर्‍याङ, यु गेट ह्वाट यु गिभ हालै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। अंग्रेजी भाषामा तयार पारिएको फिल्म जस्तो कर्म गर्‍याे, त्यस्तै फल पाइन्छ भन्ने विषयमा बनेको छ । २६ वर्षदेखि लन्डनमा बसी आफूलाई सफल तथा लोकप्रिय दन्त चिकित्सकका रूपमा उभ्याउन सफल डा. रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो फिल्म हो । डा. रिजालको घरेलु फिल्म निर्माण कम्पनी के आर प्रोडक्सन, लन्डनको ब्यानरमा निर्मित फिल्ममा उनले लन्डनवासी नेपालीका साथमा लन्डनका कलाकारहरूलाई अभिनय गराएका छन् । हलिउडका नामधकको समेत संलग्नता रहेको फिल्ममा लन्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो टयांक) मुख्य भूमिकामा छन् भने लन्डनकी डेली एलन नायिका रहेकी छिन् । उनीहरूका साथमा सपन कुमार राई, जेना मासे, ज्याक मासे, कारलाई बिक, र निशान पुनले पनि अभिनय गरेका छन्।

सम्पूूर्ण छायांकन कार्य लन्डनमा गरिएको फिल्मको पोस्ट प्रोडक्सनको काम भने नेपालमा गरिएको छ । सस्पेन्स थ्रिलर फिल्ममा कथा डा. कपिल रिजालकै छ भने पटकथा उनका साथमा लुक हन्टरले तयार पारेका छन् । स्टोरी बोर्डिङ ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअन भ्यान टिम्परली, छायांकन फास्टस टक्ला, सम्पादन दीपेश केपी र एलेक्स टोम्ली, भिजुअल इफेक्ट प्लुटस स्टुडियोको रहेको फिल्ममा सपन कुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । फिल्म ११ मिनेट २२ सेकेन्डको छ ।
डा. रिजालले यसअघि कोरोना संक्रमणबाट हुने कोभिड—१९ को विषयमा एकल कलाकार लिएर गिल्टनाम छोटो फिल्म बनाएका थिए  भने २० वर्ष अगाडि भारतमा अध्ययनका क्रममा रहँदा फरक फरक भाषा बोल्ने विभिन्न देशका साथीहरूका साथ साइलेन्स सट फिल्म बनाएका थिए। डा. रिजालले आफ्ना पिता डा. भोला रिजालका कारण रगतमै चिकित्सा क्षेत्र र फिल्म रहेकाले आफू पनि दुवै क्षेत्रमा सक्रिय भएको बताए।

‘ब्लडमै डक्टरी पेसा र फिल्म छ, त्यसैले म यी दुवै क्षेत्रमा रमाइरहेको छु’ काम विशेषले हाल नेपालमा रहेका डा. रिजाल भन्छन् । डा. रिजालले नेपाल र लन्डनमा गरी हालसम्म करिब १ दर्जन म्युजिक भिडियो समेत निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्