बार्सिलोनाको रोमाञ्चक जित



लन्डन, (एजेन्सी) ।

स्पेनिस लालिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोनाले रोमाञ्चक पुनरागमन जित निकालेको छ । आइतबार राति बार्सिलोनाले सिजनको ३४ औं साताको खेलमा भ्यालेन्सियालाई उसैको घरेलु मैदानमा ३–२ गोल अन्तरले हराउन सफल भएको हो । भ्यालेन्सियाको घरेलु मैदान मेस्टाल्ला रंगशालामा बार्सिलोनाले खेलमा एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो ।

सो क्रममा कप्तान लिओनल मेसीले एउटा पेनाल्टी सदुपयोग गर्न नसके पनि एक फ्रिकिक गोलकासहित दुई गोल गरेर टिमलाई जितको हकदार बनाए ।

निकै प्रतिस्पर्धात्मक उक्त खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । तर, दोस्रो हाफमा भने दुवै तर्फबाट गरी कुल पाँच गोल भए । भ्यालेन्सियाले खेलको ५०औं मिनेटमा हेडिङ गोलमार्फत अग्रता लिएको थियो । सो गोल ग्याब्रिएल पाउलिस्टाले गरेका थिए । कर्नर किकबाट आएको बलमा पाउलिस्टाले फ्रि हेडरमा सो गोल गरेका थिए ।

त्यसपछि बार्सिलोनाले खेलको ५७औं मिनेटमा पेनाल्टी पायो । डीबक्समा भ्यालेन्सियाका खेलाडीले बललाई हातले छोएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । तर, मेसीको पेनाल्टी प्रहार भ्यालेन्सियाका गोलकिपर ज्यास्पर सिलेसनले रोके । यद्यपि, रिबाउन्ड बलमा भ्यालेन्सियाले बल क्लियर गर्न नसक्दा मेसीले बराबरी गोल फर्काउन सफल भए ।

त्यसपछि खेलको ६९औं मिनेटमा बार्सिलोनाले खेलमा अग्रता लियो । यसपटक ६३औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्न सफल भए । फ्रेन्की डे जोङको हेडिङ प्रहार भ्यालेन्सियाका गोलकिपरबाट रिबाउन्ड भएर आएको बलमा नजिकै रहेका ग्रिजम्यानले सजिलै गोल गरेर टिमलाई २–१ को अग्रता दिलाएकाथिए ।

त्यसपछि खेलको ६९औं मिनेटमा बार्सिलोनाका कप्तान मेसीले फ्रिकिकमार्फत् शानदार गोल गरे । उनको लामो दुरीको फ्रिकिक प्रहार तल्लो पोलमा लाग्दै जाली चुमेपछि खेलमा बार्सिलोनाको तेस्रो गोल सम्भव भयो । मेसीको सोही गोलपछि बार्सिलोना जिततर्फ अघि बढेको थियो ।

त्यसपछि पनि घरेलु टोली भ्यालेन्सियाले गोल गर्दै खेलमा फर्किने संकेत देखाएको थियो । खेलको ८३औं मिनेटमा भ्यालेन्सियाका मिडफिल्डर कर्लोस सोलेरले डीबक्स बाहिरबाट शक्तिशाली प्रहारमा गोल गरे । त्यसपछि बाँकी रहेको समयमा थप गोल नभएपछि खेल बार्सिलोनाले ३–२ ले जित्यो । यो जितपछि बार्सिलोनाले ३४ खेलबाट कुल ७४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्