कोरोनाको कारण आईपीएलको खेल स्थगित



नयाँदिल्ली, (एजेन्सी) ।

कोरोनाको कारण कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुनु पर्ने खेल स्थगित गरिएको छ । कोलकाता टिमका दुई खेलाडीमा कोभिड १९ को पोजिटिभ देखिएपछि सोमबार हुने तय भएको सो खेल स्थगित भएको हो ।

वरुण चक्रवर्ती र सन्दीप वारियरको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो । टिमका अन्य खेलाडीको नतिजा भने नेगटिभ आएको थियो । आईपीएल अप्रिल ९ देखि शुरूभएयता पहिलोपटक कोरोना पोजिटिभ नतिजा आएको छ । लेग स्पिनर चक्रवर्ती र पेस बलर वारियर आइसोलेसनमा बसेका छन् । साथै टिमका खेलाडीहरूको परीक्षण दैनिक गरिने पनि जनाएको छ ।

यसपटक कोरोनाकै कारण आईपीएलका खेलहरू भारतका ६ वटा भेन्युमा आयोजना भइरहेका छन् । टिमका खेलाडीहरू चार्टर र नीजी विमानबाट यात्रा गरिरहेका छन् । खेलाडी होटेल र रिसोर्टमा बसिरहेका छन्, उनीहरूले बाहिरका कोहीपनि मान्छेसँग सम्पर्क गरिरहेका पनि छैनन् ।

यसअघि, अस्ट्रेलियाका खेलाडी एन्ड्रयु टाइ, एडम जम्पा र केन रिचार्डसन भाइरसको कारण आईपीएल छाडेर घर फर्केका थिए । भारतीय स्पिनर रविचन्द्र अश्विनले पनि कोरोनाकै कारण आईपीएल छाडेका थिए । तर, अस्ट्रेलियाका अन्य खेलाडी ग्लेन मेक्सवेल, स्टिभ स्मिथ, पेट कमिन्स, डेभिड वार्नरले प्रतियोगितामा खेलिरहेका छन् । यस्तै इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजका खेलाडी पनि खेलिरहेका छन् । इङ्लयान्डका खेलाडीमाथि भने इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले लगातार निगरानी र सम्पर्क गरिरहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्