पत्रकारका लागि आइसोलेसन वार्ड



नेपाल समाचारपत्र, बागलुङ ।

कोरोना संक्रमणको दर बढेसँगै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले पत्रकारका लागि आइसोलेसन कक्षको निर्माण गरेको छ ।
बागलुङमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै जाँदा फ्रन्ट लाइनमा खटिने पत्रकार पनि संक्रमित हुन सक्ने भन्दै महासंघले १० वेडको आइसोलेसन कक्षको निर्माण गरेको हो ।

महासंघले आफ्नै भवनको सभाहललाई तत्कालका लागि आइसोलेसन कक्षका रूपमा रूपान्तरण गरेको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलले बताउनुभयोे । भाडाको कोठामा बसेर काम गरिरहेका पत्रकारहरु अरू व्यक्ति भन्दा अझ धेरै प्रभावित हुन सक्ने भएकाले उनीहरुलाई लक्षित गरेर आइसोलेसन वार्डको निर्माण गरिएको उहाँले बताउनुभयो ।

महासंघको नवनिर्मित भवनको हलमा आइसोलेसन कक्ष, शौचालय तथा आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीको व्यवस्था गरिएको छ । आइसोलेसनको सोमबार धौलागिरी अस्पताल बागलुङ र बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले अनुगमनसमेत गरेको थियो ।
अनुगमनपश्चात् आइसोलेसनलाई अक्सिजन सहित सञ्चालनको व्यवस्थापन गर्न धौलागिरी अस्पतालले सहयोग गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। शैलेन्द्र विक बताउनुभयो ।

तत्कालका लागि पाँच लिटर स्यानिटाइजर क्षमताको विद्युतीय स्यानिटाइजर डिस्पेन्सर, २ सय ५० थान मास्क, ५ लिटर स्यानिटाइजर, पल्स अक्सोमिटर, डिजिटल रक्तचाप परीक्षण औजार, डिजिटल थर्मोमिटर र हेन्डवास एक थान सहयोग गरेको अध्यक्ष कँडेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्