कोरोना संक्रमणले सास फेर्न गाह्रो भयो ? अपनाउनुस् चिकित्सकका यी १६ सुझाव



काठमाडौँ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहरले नेपालमा पनि भयावह स्थिति पैदा गर्न लागेको छ । यस समयमा सरकारले समेत बिरामीलाई अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने जानकारी दिइसकेको छ । सरकारको यस्तो सूचनाले जनता झन बढि त्रसित देखिएकाबेला चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले भने संक्रमितलाई नआत्तिन र डटेर यस महामारीको सामना गर्न सुझाव दिइरहेका छन् ।

अस्पतालमा बेड अभाव भएसँगै होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ । यस्तो परिस्थितिमा संक्रमितलाई सास फेर्न गाह्रो भएमा डा.रबिन्द्र पाण्डेले केही सुझाव दिएका छन् ।

डा. पाण्डेका १६ सुझाव

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउँछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।

३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला। आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला । छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल र एन्टिबायोटिक ) खानुपर्ने हुन्छ। कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला। अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न कुनै उपचार पाउनुहुन्छ ।

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला । यसपटकको प्रजाति निकै संक्रामक छ ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।

११. पानीको बाफ लिंदा आराम हुन्छ ।

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला । नआत्तिनुहोला ।

१५. दिनमा १ र २ पटक मात्र समाचार हेर्नुहोला। सामाजिक संजाल नहेर्नुहोला । अनधिकृत समाचारले तनाव बढाउँछ ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला ।

प्रतिक्रिया दिनुहोस्