भेरीमा थपियो जनशक्ति, संक्रमितले बिरामीको उपचार गर्नुपर्ने बाध्यता हट्यो



नेपाल समाचारपत्र, बाँके ।

कोरोना बिरामीको चापले अस्तव्यस्त बनेको भेरी अस्पताल, नेपालगन्जमा जनशक्ति थप गरिएको छ ।

भेरी अस्पताल विकास समिति, नेपालगन्ज उपमहानगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट गरी ७० जना स्वास्थ्यकर्मी थप गरिएको छ । अस्पतालले ४८ जना स्वास्थ्यकर्मी, नेपालगन्ज उपमहानगरपालिकाले १५ र कर्णालीबाट ६ जना स्वास्थ्यकर्मी आएका छन् ।

जनशक्ति अभाव रहेकोमा भेरीमा ८८ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना भएपछि उपचारमा अस्तव्यस्त भएको थियो । भेरीमा संक्रमितले नै बिरामीको उपचार गर्नुपर्ने बाध्यता आइपरेको थियो ।

७० जना स्वास्थ्यकर्मी भेरीमा पुग्दा अस्पताललाई ठूलो राहत मिलेको छ । अस्पताल विकास समितिका सदस्य धनीराम वली भन्नुहुन्छ– ‘अस्पतालले नियुक्ति गरेका, उपमहानगरपालिकाले पठाइदिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट गरी ७० जना भेरीमा आउँदा अस्पताललाई ठूलो राहत मिलेको छ । स्वास्थ्यकर्मीको धपेडी कम भएको छ ।’

भेरीमा अहिले २ सय ९४ जना बिरामीको उपचार भइरहेको छ । भेरीको लोडलाई कम गर्न नेपालगन्ज उपमहानगरपालिकाले नजिकै अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ । भेरी अस्पताल नजिकै रामलीला मैदानस्थित ५० बेडको अक्सिजनसहितको वार्ड बनेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले ह्वाइट हाउसमा आइसोलेसन केन्द्र बनाएको छ । भारतबाट आएका संक्रमितलाई त्यहाँ राख्ने गरिएको छ । उपमहानगरपालिकाले भेरीकै निगरानीमा बाल मन्दिरमा आइसोलेसन केन्द्र बनाउने सोमबार मात्रै निर्णय गरेको छ ।

बाँकेका अन्य पालिकामा अक्सिजनसहितका कोभिड वार्ड बनिसकेका छन् । कोरोना रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञालाई बढाएर २७ गतेसम्म पुर्‍याएको छ । नेपालगन्ज मात्रै होइन, बाँकेमै कोरोना नियन्त्रणका लागि उपचारदेखि व्यवस्थापनका संयन्त्रहरु तयार पारिएका छन् । जिल्लामा संक्रमण फैलिने दर अझै कम भइसकेको छ । वैशाख १ देखि १९ गतेसम्ममा बाँकेमा ५ हजार ३ सय ९३ जना संक्रमित थपिएका छन् । त्यसमध्येमा १ हजार ६ सय २४ निको भएका छन् । ९७ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोभिड संक्रमित र अन्य बिरामीका कुरुवालाई खाना खुवाउन नेपालगन्ज उपमहानगरपालिकाले मासिक १ लाख ५० हजार सहयोग गर्ने भएको छ । भेरीमा अञ्जनी माता रसोईले खाना खुवाइरहेको छ ।

विगतमा अस्पतालमा उपचाररत विपन्न बिरामी र कुरुवालाई २० रुपियाँमा प्रति छाक बिहानको खाना खुवाइरहेको रसोईलाई उपमहानगरपालिकाले मासिक ५० हजार रुपियाँ सहयोग गरिरहेको थियो । पछिल्लो समय कोभिडका बिरामीको संख्या बढेपछि रसोईले प्रति छाक ८० रुपियाँमा साँझको खाना खुवाइरहेको छ ।

रसोईले साँझको खाना खुवाउन आर्थिक अभाव भएको भन्दै उपमहानगरपालिकामा अनुरोध गरेपछि सोमबार बसेको कार्यपालिका बैठकले मासिक १ लाख ५० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो । अस्पताल हाताभित्रै सस्तोमा खाना खान पाएपछि बिरामी र कुरुवालाई ठूलो राहत मिलेको छ ।

यता, बाँकेमा निषेधाज्ञा बढाइएको छ । वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई जारी गरिएको निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म पुर्‍याइएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गरेर सोबारेमा जानकारी दिएको छ । संक्रमण फैलावटको साङ्लो तोड्न गर्न १३ गते रातिदेखि निषेधाज्ञा गरिएकोमा संक्रमण दरमा अझै कमी नआएकाले निषेधाज्ञा बढाइएको जनाइएको छ ।

स्थानीय प्रशासनले शुरुमा नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्रै वैशाख ९ गतेदेखि १५ गते रातिसम्मका लागि निषेधाज्ञा लगाएको थियो । संक्रमण बढेपछि १३ गते रातिदेखि जिल्लाभरि बनाइएको थियो ।

यसैगरी, आइतबार रातिदेखि सोमबार दिउँसोसम्ममा बाँकेमा ११ जनाको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट १ सय ३८ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १ सय २३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्