पर्सामा संक्रमित बढ्दै, व्यवस्थापन पक्ष फितलो



कृष्णउदास खनाल, वीरगन्ज ।

एक वर्ष अगाडिको कुरा गर्ने हो भने वीरगन्ज कोरोनाका कारण तहसनहस बनेको थियो । गत वर्ष चैत अन्तिम साताबाट कोरोनाले थलिएको वीरगन्ज वैशाख हुँदै भदौसम्ममा आउँदा अस्तव्यस्त नै बन्यो । असोज लागेपछि केही मन्थर जस्तो बन्यो, पर्सामा कोरोना । बिस्तारै जनजीवन पनि तग्रिंदै थियो । मंसिरको अन्तिम साता वा पुस पहिलो साताबाट लामो समय बन्द रहेका विद्यालय पनि खुल्न थाले । थलिएका उद्योगहरु पनि बिस्तारै सञ्चालनमा आउने थाले अनि व्यवसाय पनि फस्टाउन थाले ।

तर, फेरि ०७७ सालको चैत अन्तिम समयदेखि फेरि वीरगन्जमा एकाएक कोरोनाको दर बढ्यो । दैनिक संक्रमतिको संख्या बढ्दै गयो र दैनिक ७० प्रतिशतसम्म संक्रमति बढे र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दै छन् । वैशाख २० गतेसम्मको कुरा गर्ने हो भने पर्साको वीरगन्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालमा २ हजार ८ सय जनाको कोरोना परीक्षण गरिएकोमा १ हजार ७ सयमा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा बनाइएको १ सय बेडमा ६५ जना संक्रमित उपचाररत रहेको उपचारमा संलग्न डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाँले अस्पतालमा रहेकाहरुलाई अक्सिजनको सपोर्टमा नै राख्न परेको बताउनुभयो । नारायणी अस्पतालमा भर्ना भएकामध्ये सोमबारसम्म ३० जनाको मृत्यु भएको छ, कोरोनाका कारण । जसमध्ये अधिकांश पर्सामा छन् भने बाँकी छिमेकीका ।

महानगर सक्रिय, गाउँपालिका निस्क्रिय

कोरोनाको दोस्रो लहर शुरु भएसँगै पर्साका स्थानीय तहको सक्रियता भने कम देखिएको छ तर वीरगन्ज महानगरपालिकाले भने सक्रियता बढाएको छ । उसले हालसम्म निःशुल्क रुपमा अक्सिजन बैंक स्थापना गरेको छ भने संक्रमितका लागि घरघरमा निःशुल्क औषधीलगायतका सामग्री लाने व्यवस्था मिलाएको छ । त्यसो त उसले वीरगन्जमा नै रहेको गोपाल मण्डलीमा पनि २ सय बेडको आइसोलन बनाउने निर्णय गरेको छ ।

पहिलोपटक कोरोना फैलँदा आफैं संक्रमित हुनुभएका वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सराबगीले अहिले पनि आफू रातदिन नभनी खटिइरहेको बताउनुभयो । उहाँले महानगरपालिकाका कोरोना संक्रमितलाई कुनै पनि हालतमा समस्या आउन नदिने अठोटमा साथ अगाडि बढिरहेको बताउनुभयो । तर, १४ पालिका रहेको पर्साको अन्य स्थानीय तहले भने दोस्रो लहरको कोरोना संक्रमणका लागि खासै काम गरेका छैनन् । पहिलो चरणमा क्वारेन्टाइन तथा आइसोलन बनाएका पालिकाहरु यसपटक उदासिन छन् । कोरोना भाइरसको दोस्रो लहरले समुदायमा महामारीको रूप लिइसकेको भए पनि पर्साका अधिकांश स्थानीय तहले आइसोलेसन सेन्टर व्यवस्थापनमा ध्यान दिएका छैनन्  ।

गत हप्ता बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पनि सबै पालिकालाई आफ्नो पालिकाभित्र आइसोलेसन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो । बैठकमा सहभागी पालिकाका प्रमुखले पनि डीसीएमसीको उक्त निर्णय कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउँदै निर्णयमा हस्ताक्षर पनि गरेका थिए । तर, १४ वटा पालिका रहेको पर्सा जिल्लामा अहिलेसम्म पटेर्वासुगौली गाउँपालिकाले मात्र आफ्नो पालिकामा १० बेडको आइसोलेसन तयार पारेको छ । पटेर्वा सुगौली गाँउपालिकाले वडा नम्बर ४ फरहदवामा कोरोना भाइरस संक्रमितको उपचारका लागि १० बेडको आइसोलेसन सेन्टर तयार पारेको हो ।

गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीको सक्रियतामा गाउँपालिकाको स्वास्थ्य शाखाले फरहदवास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा १० बेडको आईसोलेसन सेन्टर तयार पारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताउनुभयो । अस्थायी कोभिड अस्पतालका रुपमा तयार पारिएको आइसोलेसन सेन्टरमा एक जना एमबीबीस डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी गरी चार जनालाई खटाइएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पटेर्वासुगौली गाउँपालिकाभित्रका कोभिडका बिरामीलाई पालिकाकै आइसोलेसन सेन्टरमा भर्ना गरेर व्यवस्थापन गरी उपचार गरिने पालिकाका स्वास्थ्य शाखा प्रमुख जगन्नाथ साहले बताउनुभयो । बाँकी १३ वटा पालिकाले भने आइसोलेसन सेन्टर सञ्चालनका लागि तयारी नै थालेका छैनन् ।
प्रदेश सरकारको आश्वासन

प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा थप अक्सिजन सिलिन्डर र रेमडिसिभिर खरिद गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मुख्यमन्त्री निवास मधेस भवनमा सम्पन्न उच्चस्तरीय बैठकले कोरोनाको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढी देखिएको हुँदा प्रदेशको १४ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिन्डर भण्डारण गर्न कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट पाँच–पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसै गरी संक्रमितका लागि सबैभन्दा महत्वपूर्ण औषधि मानिएको रेमडिसिभिर १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई सहमति दिने निर्णयसमेत गरेको छ । बैठकमा सहभागी सरोकारवाला निकायका प्रमुखहरुले कोरोना महामारीको वर्तमान अवस्था, रोकथामको उपाय र प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे ब्रिफिङ गरेका थिए । आठवटै जिल्लामा पीसीआर मेसिन सञ्चालनमा आइसकेकाले जाँचमा समस्या नरहे पनि उपचारका लागि थप जनशक्ति परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नेपाली सेनाका उपरथी सुरेश कार्की, प्रदेश सचिव केशवप्रसाद विमली, यामप्रसाद भुसाल, प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतम, अनुसन्धानका निर्देशक हरिहर पौडेल, स्वास्थ्य आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोदकुमार यादव, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका राजिष्ट्रार डा. विनोदकुमार यादव, प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. प्रमोद यादव, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्र, मुख्यमन्त्री कार्यालयका सीडीई भगवान झासहितको उपस्थिति रहेको थियो ।

संघीय सरकारको उपस्थिति शून्य

नारायणी अस्पताल संघीय सरकारअन्तर्गतको सरकारी निकाय हो । कोरोनाको दोस्रो लहर फैलिएपछि पनि दुई हप्तापछि मात्रै नारायणीमा शैय्या बढाइएको हो । वीरगन्जकै निजी रुपमा सञ्चालित नेसनल मेडिकल कलेजले संक्रमितका लागि उपचारको व्यवस्था मिलाएको छ तर नारायणीमा उपचारको भरपर्दो व्यवस्था छैन । त्यहाँ दैनिकजसो संक्रमितको मृत्यु भइरहेको छ ।

उपचार अभावमा भन्दा पनि आवश्कयताअनुसार डाक्टरको सेवा नपाउँदा संक्रमितको ज्यान गइरहेको पीडितका आफन्तले बताएका छन् । नारायणीमा डा. सरोजरोशन दास, उदयनारायण सिंहलगायतका डाक्टरलाई खटाइएको छ र पनि उपचार राम्रो नभएको संक्रमितको भनाइ छ तर डा. उदयनारायण सिंहले भने आफूहरु २४ सै घण्टा संक्रमितको साथ सेवामा रहेको दाबी गर्नुभयो । गएको हप्ताबाट लागू गरिएको निषेधाज्ञा भने पर्सामा जारी छ ।

प्रतिक्रिया दिनुहोस्