सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द



मधुसूदन रायमाझी, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन थप कडा पार्दै अत्यावश्यकबाहेक सबै सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द रहने बताउनुभएको छ ।

उहाँले सोमबार देशबासीको नाममा सम्बोधन गर्दै संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेसन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने एक हदसम्मको लकडाउन आवश्यक छ भन्ने विज्ञहरूको सल्लाहअनुसार निषेधाज्ञा जारी गरिएको र यसलाई थप कडा पारिने बताउनुभएको हो ।

उहाँले कोरोना महामारीको दोस्रो लहरमा संक्रमणको दर र मृत्युदर गत वर्षको तुलनामा बढी रहेकाले लकडाउन कडा पार्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यसलाई थप कडाइ गरिँदै छ र प्रभावकारी ढंगले लागू गर्न पहिले झैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ।’

उहाँले वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान र वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको जानकारी पनि दिनुभयो ।

नेपाली नागरिकको प्रवेशका लागि नेपाल–भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्‍चालनमा ल्याइएको जानकारी दिँदै उहाँले आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत् सञ्‍चालन हुने व्यवस्था मिलाइएको बताउनुभयो । भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइनुका साथै सबै तहमा कन्ट्याक्ट ट्रेसिङ बढाउन लगाइएको पनि उहाँले बताउनुभयो । उहाँले प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्‍िचत हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्‍नेमा सरकार संवेदनशील रहेको बताउनुभयो । नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘महामारीको दोस्रो लहरको रोकथाम र नियन्‍त्रणका लागि सरकारका सबै संयन्‍त्र परिचालित छन् । संघ‍, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक रुपमा काम भइरहेको छ ।’

सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शै‍य्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको, वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्‍चालन गरिने बताउनुभयो ।  त्यसै गरी उहाँले प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालका रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालका रूपमा सञ्‍चालन गर्नुपर्ने जिकिर गर्नुभयो ।

सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघरलगायतका संरचना प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शैय्या र तीमध्ये प्रयोग भएका वा नभएका शैय्याको दैनिक विवरण अद्यावधिक गरेर तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्ने र कुनै अस्पतालले विवरण पूरा नपठाई शैय्या लुकाएको भेटिएमा कारबाही गरिने चेतावनी दिनुभयो ।

ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने बताउँदै उहाँले सञ्‍चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्‍चालनमा ल्याइने बताउनुभयो ।

स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ‍, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्‍त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने बताउँदै कोरोनाको पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्‍न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बीमाको व्यवस्था गरिने घोषणा गर्नुभयो ।

संक्रमणको साङ्लो तोड्नका लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहेको बताउँदै महामारी नियन्त्रण भएसँगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने बताउनुभयो । उहाँले महामारी नियन्त्रणको अभियानमा खटिनुभएका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, चालक/सहचालक, सफाइकर्मी एवम् सम्बद्ध सबैलाई विचलित नभई आ–आफ्‍नो कर्तव्य निर्वाह आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो–‘भोजभतेर तथा पर्व घरमै मनाऔँ, हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहोऔं, धैर्य गरौं, संयमता अपनाऔं, सावधान होऔं तर आतंकित नहोऔं ।’

प्रतिक्रिया दिनुहोस्