स्याङ्जामा बैशाख ३१ गतेसम्म निषेधाज्ञा घोषणा



अमृत अर्याल, स्याङ्जा ।

जिल्लामा २ सय ४० कोरोना संक्रमण पुगेपछि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक आदेश जारी गर्दै बैशाख २१ गते बिहान ६ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

नेपाल सरकारले तराईका जिल्लामा ५ सय र पहाडी तथा हिमाली जिल्लामा २ सय संक्रमितको संख्या नाघेपछि जिल्लालाई लकडाउन वा निषेधाज्ञा गर्ने निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बैशाख २१ गते देखि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जारी गरेको आदेशमा भनिएको छ, अत्याआवश्यक सेवा बाहेक सबै बन्द हुनेछन् । निषेधाज्ञामा औषधी उपचार तथा आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन र अनावश्यक हिडडुल गर्न रोक लगाइएको छ । सिद्धार्थ राजमार्गमा भने आवागमन बन्द नगरिएको तर जिल्लाभर यात्रु झार्ने र ओराल्न भने नपाईने आदेशमा उल्लेख गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पहिलो र दोस्रो लहरको कोरोनाबाट अहिलेसम्म १ हजार ३३ जना संक्रमित छन् । ती मध्ये ८ सय २१ जना निको भएको र २ सय ४० जना सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ । स्याङ्जामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

यस भन्दा अगाडी तिन पालिका वालिङ, गल्याङ् र चापाकोटले बैशाख २५ गते सम्म स्वास्थ्य संकट घोषणा गरी अत्यआवश्यक बाहेक सबै बन्द गर्न आब्ह्रान गरेका थिए । जिल्लामा नेपाल सरकारले तोके बमोजिमको कोरोना संक्रमितको संख्या २ सय नाघेकाले जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रजिअ नेपालले बताउनुभयो । जिल्लाका ११ पालिका मध्ये सबैभन्दा बढी कोरोना भाइरसले वालिङलाई समस्यामा पारेको छ । वालिङमा भारतको कुम्भमेलामा गएर आउनेहरुमा कोरोना बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्