वातावरणीय प्रभाव मुल्याङ्कनका लागि सहमती



विमल विष्ट, काठमाडौँ ।

वन तथा वातावरण मन्त्रालयले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल खप्तड जोडन निर्माण गरिन लागिएको डोटीको झिग्रानादेखि बिचपानी हुँदै बुगीदह सम्मको सडक खण्डको वातावरणिय प्रभाव मुल्याङ्कन (इआइए) अध्यनका लागि सहमती दिएको छ ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले उक्त सडक खण्डको वातावरणिय प्रभाव मुल्याङ्कन (इआइए) का लागि सहमती दिनु भएको हो । वातावरणीय प्रभाव र जैविक विविधतामा पर्ने असरलाई कम गर्दै वातावरणमैत्री सडक निर्माण होस् भन्ने उदेश्यले सहमती पत्र दिइएको उहाँका स्वकीय सचिब हेमन्त रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वातावरणिय प्रभाव मुल्याङ्कन (इआइए) अध्ययन नहुँदा लामो समयदेखि सडक निर्माणको कार्य अगाडी बढ्न सकेको थिएन, अब मन्त्रालयले सहमती दिइएको छ, काम अगाडी बढ्छ ।” उक्त सडकको वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) अध्ययन गर्न नपाउदा सडकको विस्तृत योजना समेत बन्न सकेको थिएन ।

झिग्रानादेखि बिचपानीसम्म कम्तिमा पनि १५ किमिमात्र दुरी भएकाे र स्थानीय जनताले अत्यन्त दुःख भोग्नु परेको तथा वर्षौदेखि सडक निर्माणको काम रोकिएको भन्ने जनस्तरबाट पटक पटक गुनासो आएपछि मन्त्री आलेले सहमती दिनु भएको मन्त्रीका स्वकीय सचिब रेग्मीले जानकारी दिनुभयो ।

वातावरणिय प्रभाव मुल्याङ्कन (इआइए) अध्ययनको सहमती दिइएसँगै अब उक्त सडकको चाडो विकास हुने अपेक्षा लिइएको छ । उक्त सडक निर्माणको कार्य सकिए खप्तड क्षेत्रमा पर्यटक भित्रयाउन निकै सहज हुने तथा यहाँका नागरिकको आर्थिक स्तर बृद्धि हुने पूर्वीचौँकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “(इआइए) नहुँदा लामो समयदेखि सडकले गती लिन सकेको थिएन, मन्त्री ज्युले सहमती दिनुभयो, अब चाडै सडकको विकास हुने छ ।” यस सडक निर्माणबाट राष्ट्रिय निकुञ्जको कर्मचारीलाई समेत फिल्ड अनुगमन निरिक्षण तथा गस्ती कार्यमा सहज हुने र वन्यजन्तु एवम जैविक विविधता संरक्षणमा थप टेवा पुग्ने विश्वास गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्