गुठी घर बन्यो आइसोलेसन सेन्टर



सुनील महर्जन, ललितपुर ।

अस्पतालहरू कोरोना संक्रमितले भरिएपछि स्थानीयले गुठी घरमा आइसोलेसन सेन्टर बनाएका छन् ।

ललितपुरको च्यासलमा च्यासः मंका खल, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कल मिलेर अस्थायी आइसोलेसन सेन्टर बनाएको हो । अक्सिजनसहितको आइसोलेसन पाँच शैय्याको रहेको छ । पछि अझै पाँचवटा शैय्या थप्ने योजना रहेको बताइएको छ ।

कोरोनाबाट संक्रमित हुने स्थानीय बासिन्दाका लागि आइसोलेसन सेन्टर तयार गरिएको च्यासल टोल सुधार समितिका अध्यक्ष श्याम व्यञ्जनकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अस्पतालहरूमा बेड नपाइरहेको खबर आइरहेको छ । त्यसैले सामान्य अक्सिजनले हुने अवस्थामा हामीले आफैं व्यवस्था गर्न सकिन्छ भनेर तयार गरेका हौं ।’ अहिलेसम्म स्थानीय बासिन्दालाई कोरोना संक्रमण भएको छैन तर भइहाल्यो भने सरकारको मुख ताक्न नपरोस् भनेर आइसोलेसन सेन्टर बनाइएको हो ।

अध्यक्ष श्याम व्यञ्जनकारलाई एक साताअघि अस्पतालमा शैय्या चाहियो भन्दै साथीको फोन आएको थियो । उहाँले तीन/चारवटा अस्पतालमा पहल पनि गर्नुभयो । तर, सबै अस्पतालले शैय्या खाली नभएको जवाफ फर्काएपछि उहाँले टोलका साथीहरूसँग छलफल गरेर टोलमै अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाउने निर्णय गर्नुभयो । उहाँले डा. विक्रम व्यञ्जनकार, डा. सुविन व्यञ्जनकार र डा. सुनीता व्यञ्जनकारको सुझावअनुसार आइसोलेसन सेन्टर तयार पारिएको बताउनुभयो ।

आइसोलेसन सेन्टरमा अक्सिजन र बिरामी हेर्नका लागि चिकित्सकको समेत व्यवस्था गरिएको छ । आइसोलेसनमा बस्नेहरूलाई डा. समीरा व्यञ्जनकारले जाँच गर्नुहुनेछ । डा. समीरा २०७४ सालमा भएको यूएस बंगला विमान दुर्घटनामा बाँच्न सफल व्यक्ति हुनुहुन्छ । आइसोलेसन बनाउन बेड भने च्यासल युवा क्लबले उपलब्ध गराएको हो । क्लबले ‘ए’ डिभिजन गेम खेल्न खेलाडीका लागि राखिएको बेड आइसोलेसन सेन्टरलाई उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्